साउन ३२, काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले १० बुँदे सहमतिलाई सबैले पालना गरे एमाले एकता सहज भएको बताएका छन् । उनले १० बुँदेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैले स्वीकार गर्नुपर्ने बताए ।
आफुँले पार्टी विभाजनको कल्पना नगरेको भन्दै रावलले भत्काउने नसोंच्न चेतावनी दिए । एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भने, ‘म १० बुँदेको हस्ताक्षरकर्ता हुँ, यसलाई ओली र नेपाल दुवै नेताले स्वीकार्नुपर्छ, पार्टी एकता यहि सहमतिलाई स्वीकार्दा हुन्छ, कसैले दायाँबायाँ सोँचेर पार्टी भत्काउन काम गर्न पाईँदैन् ।’
१० बुँदे सहमति नेताहरुकै समर्थनमा भएको र एमालेका ठुलो हिस्सा उक्त सहमति कार्यान्वयन गर्नुपर्ने लाईनमा रहेको उनको भनाई छ । एमाले विभाजन गराउनुपर्ने सैद्धान्तिक र नीतिगत आधार नरहेको उनको भनाई छ ।
एमाले विभाजन भए राष्ट्र र लोकतन्त्र कमजोर हुने भन्दै संवेदनशील हुने रावलले नेताहरुलाई आग्रह गरेका छन् । उनले व्यक्तिगत तिक्ततालाई समग्र पार्टीको भविष्यसँग नजोड्न पनि आग्रह गरे ।
वि.सं.२०७८ साउन ३२ सोमवार ११:५३ मा प्रकाशित






























