back
CTIZAN AD

अस्तव्यस्त क्यान्सर अस्पताल अब सुधारको बाटोमा

वि.सं.२०७३ फागुन १० मंगलवार

822 

shares

१० फागुन,चितवन। कर्मचारीको गुटबन्दी र कमाउ धन्दाका कारण अस्तव्यस्त बन्दै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब सुधारको दिशातर्फ अघि बढेको छ ।

स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरी अस्पताल सुधारका लागि अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई निर्देशन दिएपछि यस्तो परिवर्तन आएको हो । यस लगत्तै रिक्त सञ्चालक समितिलाई समेत पूर्णता दिएको भए पनि पहिलेका सञ्चालक समिति सदस्यहरुले सर्वोच्च अदालतमा मुद्दा दिएपछि सञ्चालक समितिले पूर्णरुपमा काम गर्न भने पाएको छैन ।

यद्यपि अस्पतालमा छाएको अन्योलतालाई चिर्दै केही हदसम्म काम गर्न अस्पताल व्यवस्थापन सफल भएको कार्यकारी निर्देशक डा चीनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि अड्किएर बसेको चिकित्सक, नर्सिङ, पारामेडिकल तथा अन्य कर्मचारी गरी एक सयभन्दा बढी कर्मचारीको पदोन्नति तथा स्थायी प्रक्रिया सम्पन्न भइसकेको छ । अस्पतालमा अतिरिक्त सेवा (इएचएस) का लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । अब क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकले बाहिर काम गर्न पाउँदैनन् । लामो समयसम्म बिदा स्वीकृत नगराई बसेका चिकित्सक कर्मचारीको अभिलेख तयार गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कार्यकारी निर्देशक पुनका अनुसार अस्पताललाई व्यवस्थित गरी टिकट काउन्टरमा टोकन प्रणाली सुरु गरिएको छ । चीन सरकारबाट अनुदान प्राप्त अत्याधुनिक सिटी स्क्यान, डिजिटल मेमोग्राफी, लेजर सर्जरीजस्ता उपकरण जडान गरी प्रयोगमा ल्याइएको छ । आइएइए नामक संस्थाबाट प्राप्त सहयोगमा गामा क्यामराको माध्यमबाट बोन, थाइराइड, लिभर, किड्नी स्क्यानिङ गरी परीक्षणसमेत सुरु गरिएको छ ।

त्यसैगरी इमोनो हिस्टो क्यामेस्ट्रीका २८ प्रकारका परीक्षण पनि थालिएको बताउँदै उहाँले एक महिनाभित्रमा १९७ वटा परीक्षण गरिएको जानकारी दिनुभयो । यसबाट जटिल क्यान्सरको परीक्षण गरिन्छ ।

अस्पतालले ट्यूमर भएकाको परीक्षण गरी छिटो रोग पत्ता लगाउन थालेको उहाँले बताउनुभयो । बिग्रिएको अवस्थामा रहेको लिनायक सिमुलेटर तथा कोभार–६० मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसले बिरामीको शरीरमा सेकाई गर्ने गर्दछ ।

अस्पतालले १५ वर्षमुनि र ७५ वर्षमाथि उमेर समूहका बिरामीको सबै उपचारमा निःशुल्क गरेको छ भने ७० वर्ष नाघेका बिरामीलाई रेडियो थेरापी र शल्यक्रियामा छुट दिन सुरु गरेको छ । कार्यकारी निर्देशक पुनका अनुसार एक वर्षअघिदेखि हुन नसकेको आव २०७२÷७३ को लेखापरीक्षण गराइएको छ । अस्पतालमा नागरिक बडापत्र राखिएको छ । प्रयोगशालामा थप दुईजना चिकित्सक राखेर सेवा प्रभावकारी बनाइएको छ ।

अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग सम्बोधन गरी तलब वृद्धि गरिएको, टेन्डर मूल्याङ्कन हुन नसक्दा रोकिएका ११ वटा टेन्डरको सदरसँगै औषधि, रिएजेन्टलगायतका सामग्री सहज भएको, बिग्रिएर बसेको फोहर जलाउने इन्सिनेटर मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र अतिरिक्त सेवाका लागि ५० श्यया सञ्चालन गर्न काम थालिएको जानकारी दिनुभयो । यसैगरी अस्पतालको स्थापनाकालदेखि नै विभागीय प्रमुख रहेकाहरु सबैलाई परिवर्तन गरी नयाँलाई जिम्मेवारी दिएर काममा चुस्तता ल्याइएको पनि अध्यक्ष न्यौपानेले बताउनुभयो । अस्पतालमा नौवटा विभाग रहेका छन् ।

सर्वोच्चले गर्ने फैसलासँगै सञ्चालक समितिले पूर्णता पाउने भन्दै उहाँले त्यसलगत्तै अस्पतालमा २०० श्यया थप गर्ने योजना रहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १९४ श्यया मात्र छन् जसका कारण बिरामीको चाप थेग्न कठिन हुँदै आएको छ । सञ्चालक समितिका सम्बन्धमा सर्वोच्चले यही फागुन ५ गते निर्णय दिने अपेक्षा गरिएको छ । उहाँका अनुसार त्यसलगत्तै सञ्चालक समिति बैठक राखेर पुराना उपकरण विस्थापित गरी नयाँ खरिद गर्ने, बिएस्सी अन्कोलोजी नर्सिङ कलेज सञ्चालनमा ल्याउने र अस्पताललाई क्यान्सर प्रतिष्ठानका रुपमा विकास गर्ने योजना छ । चीन सरकारको सहयोगमा निर्मित सो अस्पतालमा नेपाल र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष १३ हजार क्यान्सर रोगीसहित एक लाख २० हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

वि.सं.२०७३ फागुन १० मंगलवार ११:०६ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...