५ भदौ, काठमाडौँ । नेपाली काँग्रस जिल्ला सभापतिहरुले ३ बुँदे माग राख्दै पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।
उक्त माग पत्रमा आफूहरुको ३ बुँदे माग यहि भाद्र ७ गतेभित्र सम्बोधन हुनुपर्ने अन्यथा भाद्र ८ गतेबाटै केन्द्रीय कार्यालयमा धर्ना अन्सन गर्ने चेतावनी दिएका छन् ।
माग संवोधनका लागि अनुरोध गर्दै लेखिएको उक्त माग पत्रमा आसन्न १४ औं महाधिवेशनका सदस्यको क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न, क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गर्न र सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देसभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आए पनि आफूहरुको आग्रहलाई वेवास्ता गरिएका कारण यस्तो चेतावनी दिनुपरेको नुवाकोट काँग्रेस जिल्ला सभापति जगदिशनरसिंह केसीले बताए ।
यस्तो छ मागपत्र :
श्रीमान सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
वीपी स्मृति भवन, वीपीनगर, ललितपुर ।
मितिस् २०७८/०५/०५
विषय :माग संवोधनका लागि हार्दिक अनुरोध
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देसभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दी गर्न तथा लामो समयदेखि पार्टीमा रगत/पसीना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं। त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।
तसर्थ,
१। प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२। क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३। सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।
हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट ९भाद्र ८ गते० बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं। जय नेपाल ।
विनीत
जिल्ला सभापति एवं साथीहरु
यसअघि पनि जिल्ला सभापतिहरुको तर्फबाट पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । उक्त पत्रमा ‘नेपालको संविधानमा राजनीतिक दल सम्वन्धी रहेको प्रष्ट ब्यवस्था (धारा २६९ को उपधारा ४) का कारण उत्पन्न भएको वैधानिकता सम्वन्धी प्रश्नको भरपर्दो निरुपण नगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले क्रियाशील सदस्यता सम्वन्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर आजको दिनसम्म कुन कुन जिल्लाका कुनकुन समस्या के कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्ने कुरा अझै सार्वजनिक नगरिएको’ जनाइएको छ ।
‘जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानवीन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरीरगुनासोहरुको के कति संवोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरु यतिखेर अन्यौलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त छन। यस्तो मनोदशामा पार्टी सदस्यहरुलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन।
पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा हो। महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुध्दीकरणले मात्र सुनिश्चित गर्दछ। तसर्थ, अविलम्व क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न हार्दिक आग्रह गर्दछौं’ पत्रमा उल्लेख छ ।
पत्रमा अघि भनिएको छ – शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभई सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा विना आधार जथाभावि इन्ट्री गरिएका नामहरु अविलम्व हटाइयोस र तहगत सिफारिस भएरपनि ईन्ट्री नभएका नामहरु तत्काल समावेश गरियोस। वडा भेलामार्फत वडा कार्यसमितिले माईन्यूट गरी पठाएको दस्तावेज ९हार्डकपि०लाई मात्र आधिकारिकता दिइयोस।’
जिल्ला सभापतिहरुले उठाएका जायज आवाजमाथि पटकपटक उपेक्षा हुँदै आएको महशुस गरेको जनाउँदै क्रियाशील सदस्यताको पारदर्शी समाधान खोज्ने भनिएको यतिदिन भैसक्दा पनि क्रियाशील सदस्यतासँग जोडिएका सवालहरुको समाधानलाई लिएर आजसम्म जिल्ला सभापतिहरुसँग कुनै परामर्श नगरिएको उनीहरुको गुनासो छ ।
विधि, पध्दति र मापदण्ड अनुसार समाधान खोज्ने कुरामा आफूहरु सहयोग गर्न सदा तत्पर रहेको छर विनम्रतापूर्वक यति आग्रह गर्दागर्दै पनि पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी सामूहिक चासो र चिन्ताको गंभीरतापूर्वक हल नखोजिएमा आफूहरु कठोर कदम चाल्न समेत वाध्य हुने भन्दै सचेत गराएका थिए ।
वि.सं.२०७८ भदौ ५ शनिवार २२:०६ मा प्रकाशित





























