
नेपाल कृषि प्रधान देश हो । यहाँका ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा संलग्न छन् । देशको कुल ग्राहस्थ उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ । नेपाल भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर, हावा पानीको हिसाबले भने ठाउँअनुसार फरक–फरक किसिमको हावा पानी पाईन्छ । जसले गर्दा ठाउँ अनुसारकै कृषि उपजहरू उत्पादन हुन्छन् । कुनै एक ठाउँमा उत्पादन हुने मौसमी उपज अर्काे ठाउँमा बेमौसमी र अनौठो हुन सक्छ जसले गर्दा आर्थिक आम्दानी गर्न सहयोग पुग्छ ।
सर्वप्रथम कृषि भनेको एउटा कला रहेछ अनि, विज्ञान पनि । जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन गर्छाै । त्यसको लागि विभिन्न विधिहरूको आवश्यकता पर्दोरहेछ । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जसविना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्व, पौष्टिक तत्व सम्पूर्ण कृषिबाटै लिनुपर्दछ । जस्तै खाद्यतत्व, दुध, माछा, मासु आदी । यति सानो देश अनि कृषि क्षेत्रमा यतिधेरै सम्भाव्यताको देश विश्वमा नै एक हो । जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ । कृतिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो ।
सामान्य अर्थमा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर उब्जाउने काम हो कृषि । पशुपालन, बाली उत्पादन, मतस्य पालन र अन्य जीव जन्तुको पालन वा खेती कृषि अन्तर्गत नै पर्दछन् । नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबैभन्दा भरपर्दाे पेशा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार पनि कृषि नै हो ।
मानव सभ्यताको विकासक्रम सँगै परम्परागत रुपमा खेतिपातीको शुरुवात भएको पाईन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषिबाट उत्पादित खाद्य नभई नहुने बाली हो । कृषि पेशा विश्वका अधिकांस मुलुकहरूले अपनाएको पेशा हो। कतिपय मुलुकहरूले कृषिलाई आधुनिकीकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सीमित रहेका छन् ।
पछिल्ला समयमा नेपाल पनि कृषि आधुनिकतातर्फ बढिरहेको पाइए पनि नेपालको अधिकांस क्षेत्रमा अझैपनि परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी नै रहेको छ । कृषि नेपालको लागि मुख्य पेशा भएपनि देश वार्षिक रुपमा अरबौं रुपैयाँको खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्थामा रहेको छ ।
यतिबेला नेपालका युवाहरु बैदेशिक रोजगारको क्रममा खाडिमुलुक देखि सुबिधा सम्पन्न देशहरुमा रोजगार खोज्दै बिदेशको गल्ली गल्लिमा धाइरहेका छन् देशका अधिकांश गाउ युवाविहिन छन् । अधिकांश घरमा तपाइको छोरा अनि तपाइको छोरी कहाँ छन भनेर सोध्यौ भने जवाप हुन्छ– विदेश । बलियो पाखुरी भएका युवा विदेशतिरै पसिना बगाइरहँदा सुन फलदाउन सकिने उसको खेतबारीमा बनमारा र शिरु फुलेको अवस्थामा छ । कतिपय युवाहरुका श्रीमतीहरु पनि सहरमा बच्चा पढाउने नाममा सहर तथा सम्बन्धीत जिल्लाको सदरमुकाममा कोठा भाडा लिएर बस्ने अनि बिदेशबाट कमाएर पठाएको पैसाले सुखसयलको जिन्दगी बिताएको पाइन्छ ।
चालु आर्थिक बर्षको दश महिनामा ३१ अर्ब रुपैया बरावरको धान तथा चामल, मकै, कोदो, गहुँ, फापर लगायतका खाद्य सामाग्री आयत भएको तथ्यांक छ । जुन तथ्यगत कृषि गणनाले पनि स्पष्ट पार्दछ । वि.सं. २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारले कृषिलाई प्रमुख पेशाको रुपमा अपनाएको पाइन्छ । कतिपय किसानहरू, जमिन्दार तथा भूमिपतीकोमा न्यूनतम ज्यालामै काम गर्न वाध्य छन् । यसरी थुप्रै नेपाली कृषकहरू पुरानै प्रचलनमा काम गर्न बाध्य भएकै कारण नेपाल कृषि वस्तुहरूका लागि छिमेकी मुलुकहरूमा भरपर्नु परेको छ ।
नेपालमा कृषिको सन्दर्भमा सकारात्मक कदम नचालिएको पनि होइन तर विगत केहीबर्ष यता केही कृषकले यस पेशालाई आधुनिक र व्यवशायिक रुपमा लैजाने अनुकरणीय प्रयास गरेका छन् । यस्ता प्रयासहरूले हालको कृषि बजारमा केही मात्रामा भएपनि स्थान लिएको छ । केही अपवादलाई छोडेर नेपाली कृषिले अझै पनि युवा वर्गलाई आकर्षित गर्न सकेको छैन । जसको फलस्वरुप दिनहुँ हजारौको संख्यामा युवा रोजगारीकै खोजीमा खाडीमुलुक तथा अन्य मुलुक जान वाध्य छन् । जसमध्ये केहीले त विदेशमा कृषि मजदुरकै रुपमा पनि काम गरिरहेका छन् । सरकारले युवा वर्ग लक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा यो समस्या निम्तिएको हो । जुन राष्ट्रकै गहन चुनौती बन्न पुगेको छ ।
मुलुकमा औद्योगिकिकरण विकासको मुख्यआधार कृषि हो । राज्यको औद्योगिकिकरणको लागि पनि उपलब्ध स्रोत र साधनलाई कृषिमैत्री बनाउन जरुरी छ । कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्योगिकिकरणको विकासले पनि गति लिन सक्ने थियो । हामीले कृषिलाई व्यवसायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढि भन्दा बढी उत्पादन गरेर आयआर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ । नेपालमा कृषि क्षेत्रको उन्नतीको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ अनि राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारी वा लघुवित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरि सामुहिक खेति प्रणालीको अबधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ ।
आजभोली अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ । आधुनिक खेतिमा कृषकहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ । आधुनिक खेति प्रणालीले कृषियोग्य भूमिको उत्पादकत्व बढाएको छ । आधुनिक प्रणाली अन्र्तगत आधुनिक मेशिन तथा प्रविधिको प्रयोग हुने हुँदा यसबाट भू–क्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानीबाट जोगाउनुका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ । वालीनाली तथा पशुपालन सम्वन्धि आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनियतामा वृद्धि गर्न सक्छ ।
नेपालमा कृषिको महत्व धेरै छ । कृषि नै नेपालको विकासको प्रमुख आधार हो । नेपालमा कृषिको सम्भावना पनि त्यत्तिकै प्रचुर मात्रामा छ । हामीले स्रोतसाधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतीको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमूल्य रहेको छ । हामीले कृषिको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सक्दछौ ।
खाद्यान्न उत्पादनमा संघर्ष गरौँ
हामीले प्रयाप्त मात्रामा खाद्यान्नको उत्पादन मार्फत् आत्मनिर्भर भई खाद्यमा देखिएका संकटमा परीबर्तन ल्याउन सफल हुन सक्छौ । जसबाट हामी भोकमरी, अनिकाल र खाद्यान्नको कमि जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं । हामीले हाम्रै देशमा उत्पादन भएका खाद्यान्नको प्रयोग गर्छौ जसबाट हाम्रो स्वास्थ्यलाई पनि महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।
गरिबी न्यूनीकरण
कृषिको विविधिकरण, व्यवसायिकरण, यान्त्रिकीकरण र गुणस्तरमार्फत् गरिबी र बेरोजगारीजस्ता समस्याहरू न्यूनिकरण गर्न सकिन्छ । कृषिको विकाससँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् । विदेशिनु पर्दैन । आफ्नै देशमा आफ्नै पसिना र मेहनतले कमाएर छाक टार्न सकिन्छ । त्यसकारण कृषिले गरिबी न्यूनिकरण गर्न एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसका लागि संघर्ष गर्नुपर्ने आजको अपरीहार्य आबश्यकता हो ।
आर्थिक समृद्धि
यदी हामीले कृषिको महत्वलाई बुझेर कृषिमा केही गर्नपर्छ भन्ने सोचका साथ लाग्यौ भने विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत सहयोग पुर्याउन सक्दछौ । हामीले उत्पादन गरेको वस्तुहरूलाई विदेशमा निर्यात गर्न सकेमा हामीले विदेशी डलर पनि आर्जन गर्न सक्छौ । उच्च मूल्यका वाली वस्तुको उत्पादन र निर्यात्मार्फत आर्थिक बृद्दि गर्न सकिन्छ ।
व्यापारघाटा न्यूनीकरण
हामीले अधिकतम मात्रामा कृषिजन्य खाद्यको उत्पादन गरी त्यसको विदेशमा समेत निर्यात गरि व्यापार विस्तार गर्न सकिन्छ । त्यसको साथसाथै व्यापार घाटा न्यूनिकरण पनि गर्न सकिन्छ । हाम्रो देशको भौगोलिक अवस्था, हावापानी पनि कृषि उत्पादनको लागि उपयुक्त रहेका कारण कृषिको आधुनिकीकरणबाट व्यापार घाटा समेत क मगर्न सकिन्छ ।
अनुसन्धान
कृषिको विकासको लागि यसको अनुसन्धान अपरिहार्य रहेकाले नयाँ–नयाँ कुराहरूको अनुसन्धान पनि गर्न सक्छौ । जसको सहयोगले हामीले नयाँ बिरुवाहरू उत्पादन गर्नसक्छौं । बिरुवाहरुको उत्पादकत्व क्षमता, रोगकिरासँग लड्न सक्ने क्षमता आदीको विकास गर्न सक्छौं । त्यसरीनै नयाँ प्रजातिका विरुवाको आविस्कार, विरुवा अथवा जनावरको वसाईमा सुधार, उत्पादन क्षमता धेरै भएको विरुवाको विकास त्यसको साथसाथै अनुसन्धानबाट आधुनिक खेती गर्ने प्रविधिको पनि विकास हुन्छ ।
आत्मनिर्भर
कृषिको व्यवसायिकरणले आत्मनिर्भर हुन मदत गर्छ । जसमा युवाहरूलाई कृषिमा आकर्षित गरी विदेश पलायनलाई निरुत्साहित गर्न मदत पुर्याउने छ । जसले स्वाधिन अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
अर्गानिक उत्पादनमा जोड
राष्ट्रका नागरिकहरू स्वस्थ हुनु पहिलो आधारभूत कुरा हो । यसरी नागरिक स्वस्थ हुने पौष्टिक तत्व युक्त ताजा फलफुल, गेडागुडि ,तरकारी दुध जस्ता आहारा कृषिबाटै प्राप्त हुने गर्दछ । यस्ता ताजा पौष्टिक आहारा उत्पादन र प्रयोगबाट स्वस्थ समाज र विकशित राष्ट्र निर्माणमा सहयोग पुग्छ । आफै उत्पादन गरेको कृषि जन्य उपजहरूको प्रयोगबाट शारिरिक र मानसिक विकासमा सहयोग पुग्छ ।
(लेखक लामा कार्ड्स एग्रीकल्चर एण्ड इण्डस्ट्रीसँग सम्बन्धीत छन् ।)
वि.सं.२०७८ भदौ ८ मंगलवार १४:५७ मा प्रकाशित