९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आजदेखि अनशनमा बस्ने भएका छन् ।
अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गर्नुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने माग राख्दै उनीहरुले आजदेखि २४ घण्टे रिले अनसन गर्ने भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागिएको नुवाकोट काँग्रेसका जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
केसीका अनुसार बुधबार तीन जिल्ला सभापति अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।
प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने जानकारी दिँदै केसीले आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी रहने बताएका छन् ।
तस्विर : विजय ढुंगानाको फेसबुकबाट
वि.सं.२०७८ भदौ ९ बुधवार ११:०४ मा प्रकाशित






























