९ भदौ, दिल्ली । भारतमा केरला राज्यका २४ हजार २९६ जनासहित थप ३७ हजार ५९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
भरतका सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये २४ हजार २९६ जना केरलाका रहेको राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।
भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो ।
वि.सं.२०७८ भदौ ९ बुधवार २०:४१ मा प्रकाशित





























