१० भदौ, काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले महानगरिय ट्राफिक प्रहरी महाशाखासंग सहकार्य गर्ने भएको छ ।
नाडाले महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा ‘नो हर्न’ कार्यक्रमलाई समेत सहयोग गर्ने जनाएको हो । नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।

विहिबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडाको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ ।
सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:१३ मा प्रकाशित






























