लामो समयदेखि अमेरिकामा रहँदै आएकी सामाजिक अभियन्ता डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ। गोरखा ताक्लुङमा दलित परिवारमा जन्मिएर थुप्रै संघर्ष अप्ठ्याराहरुलाई झेल्दै अघि बढेकी डा. विष्णुमायाको संघर्ष विश्वका विद्यार्थीहरुले पढ्न पाउने भएका छन् ।
अमेरिकाको उत्कृष्ट शैक्षिक प्रकाशन संस्था म्याकग्र हिलले हालै प्रकाशन गरेको पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ।
डा लिसा राइट होफ्नरद्वारा लिखित उक्त पुस्तकको पृष्ठ ५९१ देखि ५९४ मा विष्णुमायाको जीवनकथा समेटिएको छ । ‘पिस कर्पस् इन्फ्लुअन्स चेन्ज्ड माई लाइफ’ शीर्षकमा प्रकाशित उक्त पुस्तकमा विष्णुमाया परियारको संघर्षपूर्ण सफलता उल्लेख छ । यो पाठ्यपुस्तकमा विश्व चर्चित ५२ व्यक्तित्वको आलेख र जीवन कहानी समावेश छ। विष्णुमायाको अनुभूति ‘पर्सनल ग्रोथ’ खण्डमा राखिएको छ।
विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ।
सन् २०२० को तथ्याङ्कअनुसार हाल यो पब्लिकेशनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन्। यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन्। विष्णुमाया घरेलु हिंसाविरुद्ध आउटरिच कोअर्डिनेटरका रूपमा कार्यरत छिन्। उनी अमेरिकाको जर्सी सिटीको रोजगारी र तालिम समितिमा सदस्य छिन्। यसअघि उनले न्युजर्सीका मेयरको सल्लाहकार समितिमा रहेर काम गरेकी थिइन्।
डा विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको थियो। डा. विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुन् । सेप्टेम्बर २७, २०१५ मा अमेरिकाको केन्टुकी लुइजभिल नगरले ‘डा.विष्णुमाया परियार डे’ का रूपमा भव्यतासाथ मनाएको थियो।
उनले नेपालमा महिला शसक्तिकरणका क्षेत्रमा ठूलो प्रयास गरेकी छन् । सन् १९९८ मा एसोसिएसन अफ दलित वोमिन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) नामक गैरसरकारी संस्था खोलिन्। यस संस्थाले वित्तीय स्वयत्ततामार्फत महिलालाई र शिक्षाका माध्यमबाट बालबालिकालाई सशक्तीकरण गर्दै आएको छ । एड्वानले हालसम्म ५० हजारभन्दा बढी नेपाली महिला र बालबालिकालाई सहयोग गरिसकेको छ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:२७ मा प्रकाशित




























