१४ भदौ, काठमाडौँ । एमालेको नीति, सङ्गठन र नेतृत्व पुनः व्यवस्थित गरिने भएको छ ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका हुन् ।
पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचन मार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाएका हुन् ।
माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताए ।
राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्काे धु्रव क्रियाशील रहेको टिप्पणी गरे ।
नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै, उनले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताए ।
वि.सं.२०७८ भदौ १४ सोमवार १७:४८ मा प्रकाशित






























