१६ भदौ, काठमाडौँ । बाग्मती किनारका औषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिदैँ छ ।
काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको हो ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा देशव्यापी गुर्जोरोपण अभियानकर्मी कमलबहादुर राजलवटले ज्वागलस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान (युएन पार्क) क्षेत्रमा रोपिएका गुर्जोमा तारजालीले चोर्न नसकिने गरी संरक्षण गरेका हुन् ।
अन्य किनारमा रोपिएका बिरुवालाई पनि तारजालीले संरक्षण गरिने जनाइएको छ । अधिकार सम्पन्न बाग्मती समितिले समेत गुर्जोलाई तारजालीले संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गुर्जो रोपणसहित तारजालीले संरक्षण गर्न आयोजित कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गुर्जोजस्ता बहुउपयोगी वनस्पतिलाई नदी किनारमा रोपेर भावी पुस्ताका लागि संरक्षण गरिने प्रतिबद्धता जनाए ।
अभियानकर्मी राजलवटले काभ्रेपलाञ्चोकको पनौती, भक्तपुरको नलिन्चोकलगायत स्थलमा पनि गुर्जोरोपण गरेका छन् । गुर्जोरोपणसँगै ती स्थलमा गुर्जोबाट बनेको चिया र औषधिको धुलो पनि वितरण गरिएको छ । गुर्जोसँगै पारिजात, लप्सी, पत्थरचट्टा, करीपातलगायत वनस्पतिसमेत रोपिएको जनाइएको छ ।
रासस
वि.सं.२०७८ भदौ १६ बुधवार १७:४३ मा प्रकाशित






























