शरद्को सिर्सिरे बतास
आह्लादित हुँदा
खेतका गरा गरामा
बयेली खेल्न तल्लिन
धानका हरिया गाँजहरू हेर्दै
महिनौं देखिको
पेरुङ्गो झैँ खुम्चिएको
भोको पेट मुसार्दै
झिनो आशाको त्यान्द्रो सँगै
मुस्कुराईरहेका
प्रत्येक ओठहरूमा
म मेरी आमाको
शालिन मुस्कान देख्छु ।
चराहरूको चीर्बीर सँगै
रातले विदा माग्दा
आँगनमा स्यार्स्यार गरिरहेको
खरेटोको आवाज सुनेर
कैलीगाईको बाच्छो
बाँ गर्नु अघि
उम्लिरहेको तातो खोलेमा
म मेरी आमाको
सुनौलो विहान भेट्छु ।
धेरै बर्ष अघि देखि
हुरी बतास
अनि घाम पानी झेल्दै
ङ्याच्च परेको
हाम्रो घरको दलिनमा
भर्खर लिपेर ओभाउन लागेको
गोबरमाटोको सुगन्धमा
म मेरी आमाको
छुट्टै पहिचान भेट्छु ।
ए शहरका मान्छे
तिम्रो शहरमा
बयेली सँग मुस्कान
चीर्बीर सँग बिहान अनि
गोबरमाटो सँग आमाको पहिचान
साट्नै पाइदैन,
त्यसैले त मलाई
तिम्रो फुस्रो शहर
चाहिँदा पनि चाहिँदैन
किनकि त्यहाँ
मेरी आमाको अनुहार
देख्नै पाँइदैन ।
इनरुवा, सुनसरी
वि.सं.२०७८ भदौ १९ शनिवार ०९:१४ मा प्रकाशित






























