back
CTIZAN AD

कविता : आमा नरोउन् अब

वि.सं.२०८३ जेठ २ शनिवार

435 

shares

रामशरण न्यौपाने “पाँचघरे”
भक्तपुर

आमा हुन् घरकी दियो प्रखर जो लक्ष्मीसरी चञ्चल
आमाको ममता पवित्र छ झनै मानिन्छ गङ्गाजल
भोगुन् जीवन सान मानसितले हाँसीखुसी हुन् सब
नेपाली घरमा कतै कहरमा “आमा” नरोउन् अब॥१

आमाको महिमा त शास्त्रबिचमा देखिन्छ उच्चो अति
कौशल्यासित रामले अघि अहो! आस्था बढाए कति?
आमाकै जय गर्न युद्धपथमा लागे स्वयम् केशव
नेपाली घरमा कतै कहरमा “आमा” नरोउन् अब॥२

त्यक्ता दीन कुनै बलात्कृत नहुन् अन्यायमा शोषित
देवीको प्रतिमूर्तिझैँ घरघरै “आमा” बनुन् पूजित
शोभा हुन् घरकी मुमा सकलकी ऊर्जा तथा वैभव
नेपाली घरमा कतै कहरमा “आमा” नरोउन् अब॥३

निर्मोही अति नै बनेर घरका छोरा बुहारीहरू
पीडा धेर खपेर बस्न नसकी खोजेर बाटो अरू
त्यो वृद्धाश्रमभित्र भोग्न नपरोस् बाँच्दै हरे! रौरव
नेपाली घरमा कतै कहरमा “आमा” नरोउन् अब॥४

हुन् सन्तान समस्त नै श्रवणझैँ माता पिता खातिर
आफैँ पर्दछ बन्न भोलि सबले माता पिता आखिर
गर्दा पूजन जन्मभूमि जननी सो हुन्छ हो गौरव
नेपाली घरमा कतै कहरमा “आमा” नरोउन् अब॥५

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ जेठ २ शनिवार ०४:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...