२० भदौ, मनाङ । बाढीपहिराले क्षति पुर्याएका विद्यालय भवन सेनाले बनाउने भएको छ ।
बाढीपहिराका कारण क्षति पुगेका मनाङका विद्यालय नेपाली सेनाले बनाउने भएको हो । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको छ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ । कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको छ । सेनाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएपछि मनाङवासीका साथै बालबालिका समेत हर्षित भएका छन् ।
जिल्लाका नमूना विद्यालयका रुपमा रहेका लोकप्रिय माध्यामिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए ।
चार वटा मात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिए । “भविष्यमा देशको कार्यभार सम्हाल्ने साना विद्यार्थीको उज्यालो भविष्य बनाउनका लागि सेनाले भवन निर्माण गरेरसहयोग पुर्याउने भएको छ”, उनले भने ।
नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ । रेग्मीका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्याएको छ । कक्ष १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस हुने गरेको छ ।
जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मस्र्याङ्दी नदीको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ ।
छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । नेपाली सेनासँग कहिलेदेखि भवन निर्माणको थालनी गर्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्याउने लगायतका प्राविधिक तथा सामाजिक, विधिगत विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिए ।
रासस
वि.सं.२०७८ भदौ २० आइतवार १४:५२ मा प्रकाशित






























