back

आफ्नै बुबालाई दागबत्ती दिँदा

वि.सं.२०७८ भदौ २३ बुधवार

624 

shares
NTC AD
Global IME AD

जिन्दगी अनौठो भ्रम रहेछ
नटुिङ्गने यात्राको क्रम रहेछ ।
कस्तो हुँदै होला यात्रा बुबाको ?
जन्मनु मर्नु त झन् ठूलो परिश्रम रहेछ ।

जब आँखामा आँशु सकिन्छ अनि मनको बाँध फुटेर सम्झनाका भेल बाढीहरु आँखामा आएर थुप्रिँदा रहेछन् । आँखामा थुप्रिएका ती भेलहरु तस्वीर बन्छन् कहिले त कहिले चलचित्रका दृश्य बन्छन् आँखा वरिपरि । म चलचित्रको अभिनय गरिरहेछु वा वास्तविक जीवन बाँचिरहेछु भन्ने भ्रममा पर्छु ।

कुशे औँशी, म बुबालाई सम्झन मात्र सक्छु । बुबा हामीसँग हुनुहुन्न भन्ने सम्झनासाथ आँखा भरिन्छन् । म छक्क पर्छु कहाँ छ यो आँखामा आउने पानीको मुल ? यो आँखा रसाउनलाई बर्षात् आउनु पर्दैन किन होला । जब धेरै रोएपछि आँशु रोकिन्छ अनि मानिस बिगतको सम्झनाको चलचित्रमा एकतृत भएर टोलाउँदो रहेछ । यस्तो लाग्छ मानिसको आँखाको लेन्सलाई हेरेर नै क्यामेराको आविष्कार भएको हो अनि मानिसको मस्तिष्कलाई हेरेर नै हार्ड डिस्कहरुको आविष्कार भएको । मानिसको मष्तिकमा हार्ड डिस्कमा भन्दा धेरै सम्झनाका डाटाहरु सेभ भएर रहेका हुन्छन् ।

सयोंगले बाइस गते नै परेको छ । बुबाको मुख हेर्ने तिथि । तीन महिना अगाडि जेठ बाइस गते बुबाले यो पृथ्वीको संसार छोडेर अर्कै संसारको यात्राको थालनी गर्नुभएको थियो । बैकुण्ठ प्ग्नुभयो या यमलोक ? ठ्याक्कै थाहा पाउने कुनै संयन्त्र छैन पृथ्वीबासी हामीमा । आध्यात्मिकहरुले भन्छन् प्राणीको प्राण मर्दैन रुप परिवर्तन गर्छ आत्माले अर्थात प्राणले । मृत्यु संस्कारको गरुड पुराणमा पनि त्यही भनिएको रैछ मानिस मरेपछि कोही कोहीले मात्रै मोक्ष प्राप्त गर्छन् धेरै आत्माहरुले चौरासी करोड प्राणीहरुको जुनि लिन्छन् र फेरी मानिस भएर जन्मन्छन् । के को आधारमा भनिएको थाहा छैन तर पण्डितले ब्याख्या गर्दा भन्छन् मानिस मरेपछि काग, कुकु्र, स्याल, किरा, फट्याङ्ग्रा, बृक्ष, लहरा को रुपमा यस लोकमा जन्म लिएर दुःख पाएर फेरी मानिसको जन्म लिन्छन् ।

जे भएपनि अब म यो पृथ्वीमा बाँचिन्जेल आकाश पाताल, हिमाल पहाड जहाँ गएपनि मेरो बुबालाई भेट्न पाउने छैन, देख्न पाउने छैन । मेरो जन्मगाउँको पवित्र खोला सुन्द्रावतीको किनारमा ठुला ठुला मुढामाथि बुबाको निदाएको शरीरलाई राखी जलाइसक्यौं हामीले ।

हाम्रो बुबा जस्तो केटा मान्छे गाउँमा मैले अरु कसैलाई देखेको छैन । जो आफ्ना छोरीहरुलाई खाना पकाएर ख्वाउनु हुन्थ्यो । चिया, चाउमिन, रस राखेको तरकारी मीठो कसरी पकाउने भन्ने कुरा मैले बुबाबाट नै सिकेको हुँ । गाउँमा अरु लोग्ने मान्छे खाना पकाउनका लागि भान्सामा गएको मैले देखेको छैन । सुन्दा सामान्य लाग्छ तर मेरो दिदीहरुले एसएलसी पास गरेपछि क्याम्पस नजिक पसल सारेर पढ्नलाई साथी बस्नुभएको थियो । मेरा चार सन्तान डिग्री पास हुनुपर्छ भन्ने वहाँको सपनालाई साकार पारेरै छोड्नुभयो बुबाले । छोरीलाई पढाउने खर्च गरेर टुकी (बुबाको निकनेम) बहुलायो भन्ने समाजलाई चुनौती दिँदै आफ्ना तीन छोरीलाई डिग्री पास गराएर आत्मनिर्भर बन्ने वातावरण सृजना गरिदिनुभएको बुबाले नै हो ।

अनावश्यक कुरामा श्रम र पैसा खर्च गर्न अनुमति नदिने हाम्रो बुबाले परिश्रम र मेहनत नै जीवनको खुसी हो, रहस्य हो भन्ने कुरा आफ्नो व्यबहारबाट हामीलाई सिकाए्र जानुभयो । आफ्नो मेहनत र कमाइ नै सबैभन्दा मीठो हुने कुरा बुबाले हामीलाई सदैव सिकाउनुभयो ।
प्यारालाइसिसले थल्लिएर छ महिना बाँच्नुभयो । दुई महिना उपचार गरेपछि लौरो टेकेर हिँड्न सक्ने हुनुभयो अनि गाउँमै गएर तीन महिना फेरी आफ्नो पसल व्यवसायलाई निरन्तरता दिनुभयो । आलस्यलाई आफ्नो शत्रु ठान्ने बुबाले जीवनको अति कष्टपुर्ण समयमा पनि आफ्नो शत्रुसँग लड्नुभयो । प्यारालाइसिले थल्लिँदा पनि बुबा आफै हिँड्ने प्रयास गर्नुहुन्थ्यो, लौरो टेक्दै पसल गएर एउटा हातले व्यापार गर्नुहुन्थ्यो ।

जेठ बाइस गते एकादशीका दिन हामी रिजर्भ गाडी लिएर घर पुग्दा यो लोकलाई सँधैका लागि सपना बनाएर चिर निद्रामा निदाउनु भएको थियो बुबा। वहाँका शरीरका नशामा रगत बग्न छोडेर ठाउँठाउँमा जम्मा भएका देखिन्थे । बुबा आनन्दले सुत्नुभएको थियो । देवतालाई भेट्नलाई लामो ध्यानमा बसेको जस्तो गम्भीर र शान्त देखिन्थ्यो बुबाको अनुहार । आकाशको उज्यालो धर्तीमा पोखिएपछि घर टेकेका हामीले बुबाको सास गएपछिको अनुहार मात्रै देख्यौं । बिहानको मिर्मिरेमै हामी गाउँका सबै गाउँलेको साथमा बुबाको शरीरलाई जलायौं । कोरोना लकडाउनको बेला अमेरिका बासी दाई (बुबाको एउटा मात्रै छोरो) आउन सकेन । समयले जुराएन दाईलाई बुबाको अन्तिम संस्कारमा सहभागी हुनको लागि । पण्डितले भने छोरी पनि त्यही बुबाको सन्तान हो दागबत्ती दिन सकिन्छ । काकाको साथमा दिदीले र मैले बुबाको शिरमा आगो लगायौं र नयाँ यात्राको लागि बिदाई गर्यौं । आमाले आफ्नो पचास बर्ष एकसाथ बिताएको सहयात्रीलाई घरबाटै बिदाई गर्नुभयो । मष्तिष्कमा यादहरु मात्र साथ राखेर आफ्नो पृथ्वीको भिसा पुरा गर्नुपर्ने बाध्यतालाई स्वीकार गर्न वहाँ बाध्य हुनुभयो ।

बुबाको भौतिक शरीरलाई त हामीले सँधैका लागि बिदाई गर्यौं । र पनि बुबा आजकल सपनामा सँधै भेटिनुहुन्छ । बुबाको दर्शन पाउनकै लागि आजकल म छिट्टै सुत्ने गर्छु । यो बुबा हुँदै सिकाउनुभएको पाठ पनि हो बेलुका अँध्यारो हुँदा आफ्नो ओछ्यानमा पुगिसक र र्मिमिरेभन्दा केही अगाडि नै ओछ्यानलाई छोड्न सक । जीवनको मिठास यसैमा छ, सफलता यसैमा छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १६:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD