२५ भदौ, बलेवा । अस्पतालमा अक्सिजनको अभाव हुन नदिन भरियालाई बोकाएर जोहो गरिएको छ । अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालिएको हो ।
पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पुर्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले बताए । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खटेका छन् ।
“राति १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो”, पोखरेलले भने, “केही दिन त मौज्दात सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिण्डर भरेर ल्यायौँ ।” अस्पतालले बुधबार मात्रै ३५ ठूला सिलिण्डर पोखराबाट भरेर ल्याएको छ ।
पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेलले बताए । सघन उपचारकक्षमा मात्रै होइन, अस्पतालको आइसोलेशनमा समेत कोरोनाका बिरामी छन् ।
अस्पतालमा भरेर राखेका सिलिण्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन ।
नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।
रासस
वि.सं.२०७८ भदौ २५ शुक्रवार ११:५५ मा प्रकाशित






























