भदौ २५, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेको बताएका छन् । विवादका बीच डडेल्धुरामा अधिवेशन गरिएपछि उनले विरोध जनाएका हुन् ।
पौडेलले देउवाबाट लोकतन्त्रै उपहास भएको आरोप लगाएका छन् ।
‘जिल्ला सभापति तथा कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार अलोकतान्त्रिक भएको बताएका छन्। नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक रहेको भन्दै पौडेलले महाधिवेशनका लागि यो शुभसंकेत नभएको प्रष्ट पारेका छन्।
शुक्रबार मात्रै पौडेलसहितका नेताहरुले देउवालाई भेटेर पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न र स्वच्छ, निष्पक्ष चुनावको वातावरण बनाउन ध्यानाकर्षण गराएका थिए।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:३७ मा प्रकाशित






























