काठमाडौं । प्राविधिक समस्या देखिएको भन्दै सोमबार करिब साढे दुई घण्टासम्म आकाशमा घुमिरहेको बुद्ध एयरको जहाज मंगलबार बिहानैबाट भने सञ्चालनमा आएको छ । बुद्ध एयरको नाइन एन–एएनआई जहाजले मंगलबार बिहानैबाट उडान थालेको हो ।
मंगलबार बिहानैदेखि उडान थालेको जहाजले मध्यान्हसम्म तीन वटा उडान भरिसकेको छ ।
बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डय प्राधिकरणका प्राविधिकहरुले जहाजमा कुनै गडबडी नरहेको निष्कर्ष निकालेपछि जहाज पुनः सञ्चालनमा ल्याइएको हो । बुद्ध एयरका एक अधिकारीले बताएअनुसार काठमाडौं अवतरण भएपछि गरिएको जेकचाँजमा कुनै गडबडी नभेटिएपछि सञ्चालनमा ल्याइएको हो ।
सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उठेको जहाज विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्र्किएको थियो । विमान अवतरण हुन लाग्दा जहाजको दायाँतर्फको पाङ्ग्रा नखुलेपछि काठमाडौं फर्किएको थियो ।
अवतरणमा समस्या देखिएपछि जहाज झण्डै दुई घण्टासम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाथि फन्को लाईरहेको थियो ।
वि.सं.२०७८ असोज १२ मंगलवार १२:२१ मा प्रकाशित





























