काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका क्रममा गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयमा प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री देउवाले कानुनको छिद्रबाट निर्णय गरेर हमाललाई मन्त्री बनाएपनि त्यसले अनन्तकालसम्म लखेट्छ भन्ने विषयमा ध्यान नदिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र नहुने भन्दै त्यस्तो निर्णयको प्रतिरक्षा र जनताबाट अनुमोदन दुवै हुनुपर्ने बताएका छन् ।
‘लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन । त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ’, थापाले प्रश्न गरेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ?’
हमाललाई मन्त्री बनाउने देउवाको निर्णयले पार्टीलाई अनन्तकालसम्म खेदिरहने उनको भनाई छ । ‘‘कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’, उनले प्रश्न गरेका छन् ।
वि.सं.२०७८ असोज २३ शनिवार १४:५८ मा प्रकाशित






























