back
CTIZAN AD

एयरपोर्टमै जीवालाई सोधियो-‘पैसा ख्वाएर जापान जान लागेको हो ?’

वि.सं.२०७३ फागुन १९ बिहीवार

882 

shares

jiba-lamichhaneसन १९९१ मा रुसमा आएको ऐतिहासिक परिवर्तनले निजी क्षेत्रलाई व्यापार– व्यावसायमा संलग्न हुने अवसर दिएपछि हामी पनि त्यसको सदुपयोग गर्दै सोनी, पानासोनिक, निकोन, टासीबा, जेवीसी, क्यानजस्ता विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स सामानहरुको आधिकारिक वितरक भयौँ । यहि सिलसिलामा जापानी नागरिकहरुसँग मेरो सङ्गत बढ्दै जान थाल्यो । जापान भने अझै गएको थिइनँ तर त्यो अवसर काठमाडौँले जुरायो ।

कान्तिपुर टेलिभिजन स्थापनाको तयारी हुँदै थियो । टेलिभिजन स्टेशनका लागि चाहिने माइक्रो वेभलगायत केहि महत्वपूर्ण इलेक्ट्रोनिक्स सामानहरु विदेशबाट ल्याउनुपर्ने भयो । हिटाची कम्पनीसँग मेरो पहिल्यैदेखिको सम्बन्ध भएका कारण कान्तिपुर टेलिभिजको प्रबन्ध निर्देशकको हैसियतले सामान खरिदसम्बन्धी कामका लागि म सन् २००२ नोभेम्बरमा जापान जाने भएँ ।

म पहिलो पटक जापान जाँदै थिए । काठमाडौँ एयरपोर्टमा अध्यागमन विभागका एक कर्मचारीले अलि हेपाहा पारामा मलाई सोझै सोधे, ‘कती पैसा खुवाएर जान लाग्नुभयो जापान ?’ मैलै सम्हालीएर भनेँ, ‘म आफ्नै कामले केहि समयका लागि मात्र जान लागेको हुँ ।’

उनले पत्याउने कुरै थिएन । उनले सोचेका रहेछन् म टुरिस्ट भिसामा जापान गई उतै लुकेर बस्छु । हुन त यो धेरै नेपालीको नीयति र बाध्यता पनि हो ।

सायद उनका लागि यो प्रश्न सामान्य थियो किनभने विदेश जाने अधिकांशलाई सोधिने साझा प्रश्न भनेको यहि हो । विदेश जाने धेरै नेपाली आफ्नै देशको अध्यागमन विभागमा कर्मचारीहरुका यस किसिमका अपमानजनक प्रश्नहरुको प्रहारबाट सबैभन्दा पहिला घाइते हुनुपर्छ । त्यसपछि हरेक देशका अध्यागमन यस्तै प्रश्नहरुबाट उनीहरु अझै कठोरतापूर्वक प्रताडित हुँदै जानुपर्छ ।

अध्यागमन विभागका कर्मचारी मेरो पासपोर्ट लिएर अर्को कोठामा गए । उनले मेरो पासपोर्टमाथि राम्रै जाँचपडताल गर्ने सुर देखाए । सायद आफ्नो हाकिमलाई देखाउन गएका रहेछन् क्यारे । ती हाकिम उनीसँगै आए । हाकिमले मेरो नाम सुनेका रहेछन् । देख्नासाथ परिचितलाई झैँ विनम्र व्यबहार गर्दै उनले भने, ‘कहिलेकाहीँ यस्तै हुन्छ सर । नबुझेर यस्तो भएको हो । माइन्ड नगर्नहोला ।’

हाम्रो अध्यागमन नेपालीले नेपालीलाई गर्ने व्यवहार यस्तो हुन्छ भने विदेशी अध्यागमन बढी सोधपुछ र केरकार गर्दा के गुनासो गर्नु !

जुनसुकै देश जाँदा होस् नेपाली पासपोर्ट देखेपछि अलि बढी सोधखोज हुन्छ, केरकार हुन्छ । यस्तो लाग्छ पहिले संसारकै सबैभन्दा विश्वासिला मानिएका नेपाली अहिले संसारकै सबैभन्दा बढी अविश्वासिला बनेका छन् ।

त्यसको केहीपछि म व्यापारकै सिलसिलामा रुसी साथीलाई लिएर जापान गएको थिँए । नारिता एयरपोर्टमा अध्यागमन पासपोर्ट हेर्नासाथ उसलाई सजिलै पठाइयो । मलाई भने नेपाली भएकै कारण आधा घण्टासम्म सोधखोज गरिएको थियो ।

हिटाची कम्पनीका काटो सानसँग सिङ्गापुर एउटा अन्तराष्ट्रिय व्यापारिक मेलामा मेरो भेट भएको थियो । त्यो व्यावसायिक सम्बन्धलाई हामीले निरन्तरता दिइरहेका थियौँ । उनैले टोकियोमा मेरा लागि होटेल बुक गरिदिएका थिए । नारिता एयरपोर्टमा टोकियो सहर अलि टाढा पर्दो रहेछ ।

मजस्तै काटो सानको निमन्त्रणा सिङ्गापुर र ताइवानबाट पनि अन्य मित्रहरु सपरिवार आएका रहेछन् । उनीहरुसँग पनि मेरो चिनजान थियो । काटो सानले उनीहरुलाई र मलाई फरक–फरक हाटेल बुक गरिदिएका रहेछन् । म बस्ने होटेल सिटी सेन्टरबाट अलि पर सस्तो खालको रहेछ ।

मैले उनलाई सोधेँ, ‘खोइ त अरु साथी’ ?
उनले भने, ‘उनीहरु त अर्कै होटलमा छन्‘ ।
किन हामीलाई एकै ठाउँमा नराखेको त ?
उनले मलाई अलि दयाभाव देखाएझैँ गरेर भने, त्यो होटल अलि महँगो छ ।’
उनले थप बोलेनन् तर उनको भावले भनिरहेको थियो, तिमी त्यो महँगो होटलमा बस्न सक्दैनौ ।’
मानौँ उनले एक नेपालीलाई सस्तो होटेलमा राखेर पैसा जोगाइदिएका छन् र ममाथी ठूलो करुणा गरेका छन् । म उनीसँग एक व्यवसायिक सौदा गर्न आएको थिएँ । एउटा व्यापारीले अर्को व्यापारीसँग आफूलाई आर्थिक रुपमा कमजोर देखाउनु हुँदैन भन्ने कुरा मलाई थाहा थियो । त्यसैले मैले भने, के म त्यो होटलमा बस्न सक्तिनँ र ?”

एकछिन त उनी असमञ्जसमा परे । केहि बोल्नै सकेनन् । त्यसपछि अलि गह्रुङ्गो मन बनाएर भने, ‘सरी ।”

एक रात त्यहि होटलमा बसेर भोलिपल्ट म पनि सिङ्गापुर र ताइनवानका व्यापारी साथीहरु बसेको डाउनटाउन सिन्जुकुको ‘केइयो प्लाजा’ होटलै सरेँ ।

भ्रमणमा निस्कँदा मलाई सामान्य होटलमा बस्न कुनै समस्या हँुदैन ,त्यो सफासुगर छ भने । तर, त्यहाँ भने परिस्थित अलि फरक थियो । मैले उनलाई त्यसो भन्नुका दुई कारण थिए । पहिलो, नेपालीहरु राम्रो होटेलमा बस्न सक्तैनन् भन्ने उनको सोचाइमा परिवर्तन ल्याउन जरुरी थियो । दोस्रो, म उनका अगाडि सबल व्यवसायीका रुपमा उभिन चाहन्थेँ ।

भोलिपल्ट काटो सानले हामीलाई हाकोने नेसनल पार्क घुमाउन लगे । हामी चार जना थियौँ । सिङ्गापुर र ताइवानी साथीहरुले आफ्ना श्रीमतीहरुलाई किनमेलका लागि टोकियौमै छाडेका थिए । पा्रकृतिक तातो पानिमा नुहाउनु जापानीहरुको परम्पराजस्तै रहेछ । शरीरमा भएका घाउखटिरा या जिउ दुख्ने रोग छ भने त्यस्तो पानीमा नुहाएपछि सन्चो हुन्छ भन्ने विश्वास गरिँदो रहेछ । सायद त्याहाँ भएको सल्फरले घाउखटिरा सन्चो बनाउँदो होला । त्यसैले काटो सानले हामीलाई हाकोनेको एउटा प्रसिद्ध ओनसेन रिसोर्टमा लिएर गए । त्यहाँ प्राकृुतिक तातो पानीसहितको स्विमिङपुल रहेछ ।

पचास डिग्रिको तामक्रम भएको सल्फरयुक्त तातो पानीमा मानिसहरु निर्वस्त्र नुहाइरहेका थिए । महिला र पुरुष त्यसरी एकै ठाउँमा निर्वस्त्र नुहाएको देख्दा लाजले म भुतुक्कै भएँ । तर उनीहरु लाज मानिरहेका थिएनन् । लाग्यो, मानिसको यौवनको तापभन्दा त्यो पानीको ताप धेरै चर्को रहेछ । त्यसैले उनीहरु लाज मानिरहेका थिएनन् । केहि समय त्यहाँ घुम्दै गर्दा त म पनि उनीहरुझैँ लाज नमान्ने पो भएछु । त्यसलाई ओनसेन अर्थात् हटस्प्रिङ स्पा लिने भनिँदो रहेछ । त्यहाँ मलाई अनौठो र न्यानो अनुभूति भयो ।

हालै बजारमा आएको जीवा लामिछानेको नियात्रा संग्रह “सरसर्ती संसार” बाट लिइएको केही अंश

वि.सं.२०७३ फागुन १९ बिहीवार ०५:४६ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...