काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोकेका इजलास बहिस्कार गरेका छन् । राणाले तोकेका बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका सबै इजलास न्यायाधीशहरुले बहिस्कार गरेका हुन् ।
इजलास तोकिएकामध्ये तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । राणाको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलास बहिस्कार गरि आन्तरिक छलफलमा जुटेका छन् ।
असन्तुष्ट न्यायाधीशहरुसँग भएको छलफलका आधारमा राणाले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए । प्रधानन्यायाधीश राणाले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका थिए । मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले आफूलाई मात्रै एकल इजलास तोकेका थिए । अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका थिए ।
यसअघि सोमबार पनि राणाले ६ वटा इजलासमा पेसी तोकेका थिए। राणाले विवाद समाधान नहुँदासम्म आफू बाहेकको इजलास तोक्ने बताएको सहमतिबाट पछाडि फर्केर संयुक्त इजलास तोकेका थिए।
सम्बन्धित समाचार
प्रधानन्यायाधीशले फेरि तोडे सहमति, विवादकै बीच तोके सबै मुद्दाका पेसी
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १४:५६ मा प्रकाशित




























