काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता मातृका यादवले सर्वोच्च अदालतमा देखिएको समस्या राजनीतिक भएको बताएका छन् । उनले अदालतमा देखिएको समस्या प्रतिगमनकारी र अग्रगमनकारीबीचको लडाईँ भएको बताए ।
अदालतमा देखिएको समस्याको निकासका लागि तत्कालै पहल थाल्नुपर्ने उनको भनाई छ । निकास निकाल्न जति ढिलाई हुन्छ त्यति नै घातक हुने उनको भनाई छ ।
‘न्यायपालिकाभित्र रहेको पुरानो र नयाँ समस्याहरू सतहमा आएको छ, यो समस्या राजनीतिक समस्या नै हो’, यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ, जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ ।’
यस्तो छ यादवले सामाजिक सञ्जालमार्फत राखेको भनाई
नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासनको पक्षधर न्यायपालिकाको व्यवस्था गरेको छ । वर्गीय समाजमा कुन वर्गको हातमा सत्ता छ, त्यसबाट न्यायपालिका पनि अछुतो नरहे पनि कतै न्याय नपाए पछि जनताको अन्तिम आशा र भरोसाको केन्द्र न्यायपालिका नै हुने गरेकोछ ।तर जब न्यायपालिकाको सर्वोच्च अंग सर्वोच्च अदालत नै कुशासनको केन्द्र भए पछि राज्य व्यवस्था प्रति नै जनताको वितृष्णा जाग्छ ।न्यायपालिकाले सही भूमिका निर्वाह नगर्दा त्यहाँ पनि समस्या देखिनु स्वाभाविक हो । त्यसैले अचेल न्यायपालिकामा देखिएको संकटका कारण देशको ध्यान सर्वोच्च अदालत तिर तानिएको छ । राज्यको सर्वोच्च निकाय जो संग संविधानले प्रदान गरेको अधिकार भित्र रही कुनै प्रकारको संवैधानिक वा कानूनी विवादमा संवैधानिक वा कानूनी प्रश्नको निरुपणका लागि उचित उपचार प्रदान गर्ने असाधारण अधिकार प्राप्त सर्वोच्च अदालत समस्याग्रस्त हुनु गंभीर चिन्ताको विषय हो।
समस्याको समाधान समयमै न्यायपालिका भित्रबाट गरेको भए राम्रो हुने थियो । तर त्यो सम्भव थिएन किनकि यो समस्या न्यायालयमा देखिए पनि राजनीतिक समस्या नै हो । त्यसैले यो विषय न्यायपालिकाको आन्तरिक नभएर देश र जनताको लागि बडो गंभीर हुन गएको छ ।
महान जनयुद्ध, संयुक्त जन आन्दोलन र मधेश आन्दोलन लगायत सबै प्रकारका अग्रगमनकारी आन्दोलनको उपलब्धि धर्मनिरपेक्षता र समानुपातिक /समावेशी प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित भएपनि विभिन्न रङ्ग-रोगनभित्र रहेगा परिवर्तन विरोधीहरुले प्रतिगमन गर्नको लागि पटक-पटक कोशिस गरिरहेको कुरा दुई पटक संघीय संसद विघटनले पुष्टि भइसकेको छ ।प्रतिगमनकारी कदमको विरुद्धको लडाइले न्यायपालिकाभित्र रहेको पुरानो र नयाँ समस्याहरू सतहमा आएको छ ।यो समस्या राजनीतिक समस्या नै हो । प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनु पर्छ । जति विलम्ब हुन्छ,त्यति नै घातक हुन्छ । स्मरण रहोस जनता सबभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् ।हामी सबै अग्नि परीक्षा छौं ।त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।
अतः स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासन सहितको न्यायपालिकाको विषय नेपाल बार एशोसिएशन र न्यायपालिकाको आन्तरिक झगडा नठानेर वर्तमान उपलब्धिको रक्षार्थ सबै अग्रगमनकारी शक्तिलाई एकजुट भएर समस्या हल गर्नको लागि अगाडि आउन सबैमा हार्दिक अनुरोध गर्दछु ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १५:३३ मा प्रकाशित






























