स्याङ्जा। एमाले महाधिवेशन नजिकिइरहँदा विभिन्न पदमा आकांक्षीहरुको नाम सार्वजनिक हुन थालेको छ । महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत प्रकृयाबाट पदाधिकारी तथा सदस्य टुंग्याउने योजना बनाइरहेका छन् । तर निर्धारित पद संख्याभन्दा धेरै आकांक्षीहरु बढी देखिएपछि मतविभाजन हुने संकेत पनि देखिएको छ ।
अध्यक्षलगायत सबै पदाधिकारीमा आकांक्षा व्यक्त गर्नेहरुको संख्या बढेको छ । एमाले केन्द्रीय सदस्य तथा पुर्वमन्त्री पद्मा कुमारी अर्यालले पनि सचिव पदमा उम्मेदवारीको दाबी गरेकी छन् । सचिव पदमा महेश बस्नेत, ठाकुर गैरेलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
बिधानअनुसार ७ जना मात्रै सचिवमा निर्वाचित हुन सक्नेछन् । अहिलेसम्म सचिवमा उम्मेदवारी घोषणा गरेकामध्ये पद्मा अर्याल सबैभन्दा योग्य र बलियो उम्मेदवार भएको भन्दै एमाले वृत्तमा चर्चा हुन थालेको छ ।
आफ्नो जिल्लामा बलियो भूमिका
पञ्चायत अवस्थादेखि देखि नै विद्यार्थी संगठनमा जोडिएर काम गर्दै आएकी अर्याल पार्टी संगठनमा लोकप्रिय र मेहनती नेताको रुपमा चिनिन्छिन् । संविधानसभा सदस्यमा समानुपातिक कोटाबाट निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा भूमिका पाएकी अर्यालले संविधानमा महिलाहरुको पक्षमा विषयवस्तु समेट्ने कार्यमा निकै मेहनत गरेकी थिइन् । नेपाली कांग्रेशको बर्चस्व रहेको स्याङ्जा जिल्लालाई एमालेमय बनाउने विषयमा अर्यालले सोही समयदेखि नै योजनाबद्ध रुपमा काम गर्न शुरु गरेकी थिइन् ।
नेपालको राजनीतिक इतिहासमा पार्टी भित्रको सांगठनिक अधिवेशनमा निर्वाचन मार्फत बिजयी भएकी पहिलो जिल्ला अध्यक्ष हुन् अर्याल । उनि जिल्ला अध्यक्षमा निर्वाचित भएपछि भएको स्थानिय तहको निर्वाचनमा एमाले स्याङ्जाले झण्डै २ तिहाई क्षेत्रमा बिजय हासिल गर्न सफल भएको थियो । नेपाली कांग्रेशको बलियो उपस्थिति रहँदै आएको स्याङ्जामा अर्यालकै नेतृत्वका कारण एमाले अगाडि आएको धेरैको तर्क छ ।
तत्कालिन एमाले माओवादी गठबन्धनमार्फत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार भएर निकै लामो समयदेखि पकड जमाउँदै आएका गोपालमान श्रेष्ठलाई अर्यालले हराइदिएकी थिइन् । एमाले पार्टीलाई बलियो बनाउने र अरुको पार्टीमा खेल्न सक्ने खुबी भएको नेतृत्वको रुपमा स्याङ्जामा अर्यालको निकै चर्चा हुने गर्दछ ।
मन्त्री हुँदा लोकप्रिय छबी
एमाले माओवादी गठबन्धनमार्फत निर्वाचनमा बिजयी भएपछि ओली नेतृत्वको सरकारमा अर्याल स्वास्थ्य राज्यमन्त्री बन्न सफल भइन् । स्वास्थ्य राज्यमन्त्रीमा छोटो समय काम गर्दा उनले गर्न खोजेका कामहरुको कारण ओली प्रभावित हुन पुगे । बिगत लामो समयदेखि बामदेब गौतमको नजिक रहेर काम गर्दै आएकी अर्याल कामकै शिलशिलामा अध्यक्ष ओलीसँग नजिक हुन पुगिन ।
उनको कामगर्न खोज्ने आकांक्षा र क्षमताकै कारण प्रभावित भएर ओलीले उनलाई भूमि, व्यवस्था तथा गरिवी निवारण मन्त्रालयकै जिम्मेवारी दिए । सो मन्त्रालयको जिम्मेवारी लिएपछि उनकै पहलमा भूमिहिनलाई जग्गा वितरण गर्ने आयोग, सार्वजनिक भूमिको जाँचबुझ गर्ने आयोग, नेपालको नयाँ नक्सा निर्माण गर्ने कार्यलगायतका महत्वपूर्ण कामहरु भए । जसले नेपालको राष्ट्रियतामा नै नया आयाम थप्ने काम गरेको छ ।
भूमि मन्त्रालयको जिम्मेवारीपश्चात ओलीले फेरी अर्याललाई छोटो समयका लागि कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सो मन्त्रालयमा पनि उनले किसान र राष्ट्रको हितमा हुने धेरै कामहरुको शुरुवात गरिन् । जसमध्ये नेपालको माटोको डिजिटल नक्सा निर्माण कार्य र नेपालमा नै रासायनिक मल कारखाना खोल्ने जस्ता चर्चित निर्णयहरु रहेका छन् ।
समकालिन नेपाली राजनीतिमा अर्याल सबैभन्दा सक्रिय र लोकप्रिय महिला नेतृको रुपमा परिचित छन् । एमाले पार्टीभित्रको महिला नेतृत्वको श्रृंखलामा उमेरको आधारमा अरु भए तापनि क्षमता, सक्रियता र सम्भावनाको कोणबाट अर्याल सचिव पदको लागि सबैभन्दा क्षमतावान नेतृत्वको रुपमा उभिएकी छन् । देश, जनता र पार्टीको हितभन्दा बाहिर गएर वा उत्तेजनामा आएर अभिव्यक्ति दिने स्वभाव नभएकी अर्याललाई एमाले वृत्तमा आगामी नेतृत्वको सम्भावना भएको व्याक्तिको रुपमा औंल्याउने गरिन्छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १२:२१ मा प्रकाशित























