काठमाडौं । वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीको ‘मार्क्सवाद विकासको इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ । कम्युनिष्ट आन्दोलन तथा मार्क्सवादको अध्ययन गर्नेका निम्ति अत्यन्त उपयोगी हुने विषयवस्तुमा केन्द्रीत रहि केसीले पुस्तक तयार गरेका छन् ।
केसीले यसअघि कम्युनिष्ट आन्दोलन तथा मार्क्सवादसँग सम्बन्धित रहेर विभिन्न पुस्तकहरु प्रकाशित गरिसकेका छन् । मार्क्सवादी दर्शनसम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादवारे (२०५९) मार्क्सवादका आधारभूत सिद्धान्तहरु (२०६३) र मार्क्सवादी दर्शनको रुपरेखा (२०६७) नेपालमा राजतन्त्रको अन्त्य किन ? (२०६४), एमालेको दक्षिणपन्थी संशोधनवादमा पतन (२०६७), सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता (२०६९), क्रान्ति र विद्रोह (२०७०) प्रकाशित भइसकेको छ ।

वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीले आफु मार्क्सवादी दर्शनको एक विद्यार्थी र अध्ययता भएका कारणले पनि यो बृहत् पुस्तक तयार पार्ने विषय आफ्नो कर्तव्यभित्र परेको बताएका छन । उनले यो पुस्तक नेपालको मार्क्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुने र उत्तरमार्क्सवादी, नवसंशोधनवादी तथा नवमार्क्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा यस पुस्तकले मार्क्सवादका तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पुर्याउने विश्वस्त भएकोसमेत बताएका छन ।
अन्तराष्ट्रिय लेखक तथा पत्रकार संघको तर्फबाट प्रकाशित पुस्तको मुल्य १२ सय रुपैयाँ तोकिएको छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १३:०८ मा प्रकाशित






























