काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर–१ मा पनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि माओवादीले चुनावी प्रक्रिया रोजेको हो ।
प्रदेश कमिटीको अध्यक्ष हुन ७ जनाले दाबी पेश गरेका छन् । तीन उपाध्यक्षका पदका लागि एक दर्जनभन्दा धेरैले दाबी पेश गरेका छन् । यता एक सचिवका लागि ६ जनाभन्दा धेरैले दाबी गरिरहेका छन् ।
अध्यक्षको दौडमा सुनसरीका शिवकुमार डाँगी, पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) छन् ।
यसैगरि उपाध्यक्षमा झापाका सीपी कडरिया, खोटाङका ध्रुव बुढाथोकी (धीरेन) र विराटनगरका भोगेन्द्र यादव आकांक्षी छन् । यता महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना)लगायत छन् ।
सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले दाबी प्रस्तुत गरेका छन् ।
यसैगरि सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कोषाध्यक्षमा सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।
माओवादी केन्द्रको विधानअनुसार प्रदेश कमिटीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ ।
वि.सं.२०७८ पुस ७ बुधवार १२:२६ मा प्रकाशित






























