तिमी जून बन्नू, म तारा हुनेछु,
सधैँ जिन्दगीको सहारा हुनेछु ।
म एक्लै छु भन्ने नठान्नू कदापि,
म नै तिम्रो संसार सारा हुनेछु !
तिमी प्यासले छट्पटाएको बेला,
पँधेरोको शीतल म धारा हुनेछु !
तिमी मौन बस्दा सबै भाव बुझ्ने,
म तिम्रै नजरको इसारा हुनेछु !
नदी झैँ तिमी बग्नु जीवन सफरमा,
दिँदै साथ तिम्रै किनारा हुनेछु !
बहर: मुतकारिब मुसम्मन सालिम
सीता शर्मा ’शीत’, सिक्किम, भारत
वि.सं.२०७८ पुस १७ शनिवार ०९:१९ मा प्रकाशित





























