काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ ।
कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको कम्पनीले जनाएको छ ।
यस्तै, यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई ‘एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस’ प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
यसरी एनपीआईमा जोडिएपछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जनरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यसअघि नै एनपीआईमा आबद्ध रहेका छन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआइ सञ्चालनमा रहेको छ । जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६९ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
वि.सं.२०७८ पुस २२ बिहीवार ०९:१६ मा प्रकाशित




























