
केहि महिना अघि मेरो घर छेउमा करिब १५ बर्षअघि देखि व्यवसाय गरेर बसेको एकजना भारत स्थाई घर भएका मुस्लिम समुदायका एक ब्यक्ति पक्राउ परे । कारण रहेछ, उनले वंशजको नेपाली नागरिकता लिएको । त्यहि पनि थापा थरको । बुझदै जाँदा उनी सानैमा काठमाडौं आएर एकजना थापा थरको मानिसकोमा बसेका रहेछन र तिनै थापा थरका मानिसले उनलाई छोराको रुपमा बंशजको नागरिकता दिलाएका रहेछन । जसको केहि वर्ष पहिल्यै मृत्यु भैसकेको छ । यता ती मानिस अदालतको फैसला बमोजिम चार महिनाको जेल र जरिवाना तिरेर छुटेका छन । अब तिनको नागरिकता पनि खारेज भएको छ ।
भारतको पुर्वोत्तर राज्यहरुमा, बर्मा, भुटान लगायतका ठाउँहरुमा कम्तिमा आधा शताब्दी अघिदेखि नेपाली भाषिहरुको उल्लेख्य बसोबास रहेको छ । त्यसमध्ये कतिपय आफ्नो अनुकुलमा बसाईं सरेर गएका हुन भने कतिपय दोस्रो बिश्वयुद्धका बेला सेनाको रुपमा गएर त्यतै वसेका छन् । तर त्यतापटिका सबैले जानेको बुझेको तर कम महत्व पाएको कुरा के हो भने त्यहाँ बसोबास गर्ने अधिकांससंग नेपाली नागरिकता छ ।
पूर्वी नेपालमा लगभग बीस बर्ष बसोबास गरेर हाल युरोप र अमेरिकाका बिभिन्न ठाउँमा पूनर्बासमा गएका भूटानी शरणार्थीहरु प्राय सबै नेपाली भाषि थिए भने पहिलो पुस्ताका लगभग सबैसँग नेपाली नागरिकता थियो । अहिले पनि शरणार्थीको रुपमा पुनर्बासमा गएका प्रायको झापा र मोरङमा जग्गा जमिन रहेको छ । यो कुरा प्रभाबकारी ढंगले उठान गरेको मैले अहिले सम्म थाहा पाएको छैन, जति मध्य तराईको नागरिकताको बिषयले प्रथमिकता पाउने गरेको छ । यसको ज्वलन्त उदाहरण हेर्न नेपाल सरकारका सूचना तथा सन्चार मन्त्रीकी श्रीमती भारत सरकारको बरिष्ठ सरकारी अधिकारी हुन भने उनलाई कुन देशको नागरिक मान्ने ?
नेपालको एकिकरणमा सबैभन्दा पछि समेटीएको कोशीपूर्बको भू–भाग बाँके, बर्दिया, कैलाली र कन्चनपुर तथा त्यसबेला शक्तिशाली मानिएको हालको मध्य तराईको भू–भाग नै किन नहोस यो सबै नेपाल नै हो र यहाँ बसोबास गर्ने नेपाली नै हुन ।
नेपालको ईतिहास हेर्ने हो भने नेपालकोे राजधानी काठमाण्डौमा भित्रीएको कला र संस्कृति तराइ तिरबाटै आएको देखिन्छ जसको प्रभाब अहिले पनि बिभिन्न रुपमा पाईन्छ । कुनै कपडा सिलाउने सुचिकारकोमा कपडा सिलाउन जाँदा कुन मूलको मानिस छ भनेर हेरिन्छ । यसको अर्थ डिजाईन निकालेर सिलाउँछ या सिलाउँदैन भन्ने नै हो । यदि कालो वर्णको मधेसी समुदायको सुचिकार रहेछ भने उसकोमा अत्यधिक भिड हुने र पहाडेमुलकोमा कम हुन्छन् । यसअर्थमा मधेसी समुदायले राम्रो डिजाइन निकाल्छ भन्ने आम मानिसमा विश्वास हुन्छ ।
नेपाल एकिकरण हुनुभन्दा अगाडी अस्तित्वमा भएका बिशेष गरि तराईका भू–भागहरु कतिपय नेपालमा नै छन भने कतिपय भारत तिर छन । सोहि समयदेखि नेपालमा बसोबास गरेकाहरुले यहाँको नागरिकको रुपमा नागरिकता नपाउने । जिन्दगी भरि अनागरिक भएर हेपिएर बाँच्नु पर्ने । तर, स्वेच्छाले जागिरको शिलशिलामा र अबसरको खोजिमा बसाईं सरेकाहरु इज्जतका साथ जति देश घुम्छन त्यति नै देशको नागरिक भएर सानका साथ बाँच्नु पर्ने ?
मलाई थाहा छ, मैले यो स्तम्भ लेख्दै गर्दा कतिपयले राम्रो भन्लान त कतिपयले नराम्रो भन्लान तर मलाई के पनि राम्रोसंग थाहा छ भने, कयौं मेरा आफन्तहरु नै दोहोरो नागरिकताधारी छन र म यो स्तम्भ लेख्ने हिम्मत गर्दै छु । मलाई के राम्रोसँग थाहा छ भने कुनै एक ब्यक्ति केबल एक देशको मात्र नागरिक हुन सक्छ । एक भन्दा बढी देशको नागरीकता लिएको मानिसले कुनै पनि देशको हितमा काम गर्न सक्दैन । न त राष्ट्रियता नै बचाउन सक्छ । मैले यती सम्म देखेको छु कि भुटानबाट लखेटिएको मानिस कागजी रुपमै भए पनि नेपालमा सोझै शरणर्थीको दर्जा पाउँछ तर मणीपुरबाट लखेटीएको एउटा नेपाली भाषी भारतीय नेपालमा आएको एकहप्तामा नेपालको नागरिक बन्छ र बस्छ । अबसर हेरेर नेपालमा पनि चुनाबमा भोट हाल्छ र भारतमा पनि । यो सुबिधा कोशी तरेर पश्चिम लागेपछि एकिकरण ताकादेखि नेपालमा बसोबास गरेका पूस्ताले अहिले सम्म पाएका छैनन् ।
आजभोलि नेपालमा राष्ट्रियता र राष्ट्रवादकोे धेरै चर्चा चलेको छ तर भुट्नीज नागरिक राष्ट्रवादी कि राजबिराजका बासिन्दा ? बर्माका नागरिक राष्ट्रवादी की गौरिगञ्जका डोम समुदाय ? मणीपूरका नागरिक राष्ट्रवादी की बिरगञ्जका बासिन्दा ? यो नागरिक र नागरिकताको मापदण्ड के होला बुझ्नै सकिएन ।