काठमाडौं । सरकारले बक्यौता तिर्न नसकेर रुग्ण अवस्थामा पुगेको स्मार्ट टेलिकमको फ्रिक्वेन्सी खोसेर सिजी टेलिकमलाई लाइसेन्स दिने भएको छ । स्मार्ट टेलिकम नियन्त्रणमा लिने र सम्पत्ति व्यवस्थापन गर्नेगरी आवश्यक कानूनलाई अन्तिम रुप दिँदै यस किसिमको तयारी सुरु भएको हो ।
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको दूरसञ्चार कम्पनीले लामो समयदेखिको प्रयासका बावजुद मोबाइल सेवा सञ्चालन गर्ने अनुमति पाउन सकेको छैन ।
अर्कोतर्फ हाल बढी प्रचलनमा रहेको फ्रिक्वेन्सी समेत रुग्ण अवस्थामा पुगेका दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम, यूटीएल र हेलो नेपालले होल्ड गरेको अवस्थामा लाइसेन्स पाए पनि बजारमा आउन सिजीलाई असहज छ ।
हाल स्मार्ट टेलिकमसँग ९०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज (अनपेयर्ड) र १८०० ब्याण्डमा २४ मेगाहर्ज (अनपेयर्ड) फ्रिक्वेन्सी रहेको छ । अब स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि उक्त फ्रिक्वेन्सी फिर्ता हुनेछ ।
त्यसो त विनोद चौधरी सांसद र नेता रहेको पार्टीले नै सरकारको नेतृत्वमा आएपछि सिजी टेलिकमले मोबाइल सेवाको लाइसेन्स सहजै पाउने अनुमान गरिएको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको सात महिना बितिसक्दा पनि सिजी टेलिकमले लाइसेन्स भने हात पार्न सकेको छैन । टेकपानाबाट
वि.सं.२०७८ माघ ५ बुधवार १४:३२ मा प्रकाशित


























