काठमाडौं । चालु आवको ६ महिनामा २६ वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकहरुले ६ महिनामा नै १ अर्ब रुपैयाँ भन्दा बढी कमाउन सफल भएको देखिएको छ ।
यी मध्ये ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले २ अर्ब माथि नाफा कमाउन सफल भएका छन् ।
२७ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो पुँजीका साथ ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहन सफल भएको छ । अग्रस्थानमा रहेको ग्लोबल आईएमई बैंक नाफाको हिसाबमा समेत अगाडि नै रहन सफल भएको छ ।
ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंक र नबिल बैंकलाई समेत पछि पार्दै चालु आवको छ महिनामा साढे २ अर्ब माथिको नाफा आर्जन गर्न सफल भएको हो । सो बैंकले पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अबधिमा बैंकले कमाएको नाफा भन्दा १० दशमलब ८४ प्रतिशतले बढी हो ।
छ महिनामा वाणिज्य बैंकहरूको नाफा ३३ अर्ब माथि पुग्यो
चालु आव ०७८\७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरुको तथ्यांक हेर्दा बैंकहरुले छ महिनामा ३३ अर्ब भन्दा धेरै नाफा कमाएका छन् ।
बैंकहरूले जारी गरेको वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । चालु आबमा बैंकहरुले कमाएको नाफा अघिल्लो आवको सोही आवधिको तुलनामा झण्डै ३ अर्बले बढी रहेको देखिएको छ । अघिल्लो आवको सोही अबधिमा सोही २६ वटा वाणिज्य बैंकहरूले ३० अर्ब ५० करोड ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत आवको तुलनामा बैंकहरुले औसत ८.७८ प्रतिशतले नाफा बृद्धि गरेका हुन् । अहिलेसम्म हिमालयन बैंकको प्रतिवेदन भने सार्वजनिक भएको छैन् ।
नाफाको दोस्रो र तेस्रो स्थानमा रहन सफल एनआईसी एशिया बैंक र नबिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा क्रमशः २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ र २ अर्ब १८ करोड १४ लाख २० हजार कमाएका छन् ।
अघिल्लो आवको तुलनामा चालु आवमा एनआइसी र नबिलले क्रमशः १६ दशमलब ५७ प्रतिशत र ८ दशमलब २० प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका हुन् । यस्तै, समीक्षा अबधिमा अन्य १३ वटा वाणिज्य बैंकहरूले पनि एक अर्ब माथि नाफा कमाउन सफल भएको देखिएको छ ।
जसमा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक र माछापुछ्रे बैंक रहेका छन् ।
२६ वाणिज्य बैंक मध्ये चालु आवको ६ महिनामा ६ वाणिज्य बैंकको नाफामा भने घट्न पुगेको छ । ती बैंकहरूको नाफा अघिल्लो वर्षको सोही अबधिको तुलनामा घटेको हो । नाफा घट्ने बैंकहरूमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, सनराइज बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । यी बैंकहरूको नाफामा न्यूनतम ७ दशमलब ४३ प्रतिशतदेखि अधिकतम् २१ दशमलब ७७ प्रतिशतले सम्म संकुचन आएको छ ।
वि.सं.२०७८ माघ १० सोमवार २१:१४ मा प्रकाशित






























