खोटाङ । साइनो कला केन्द्रले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक ‘कचहरी’ नाटक प्रदर्शन गरेको छ ।
केन्द्रले दिक्तेल बजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, खार्मी, जालपा र बुइँपा तथा दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल बहुमुखी क्याम्पसमा नाटक प्रदर्शन गरेको हो । पारिवारिक बेमेल र झैझगडाका कारण बालबालिकामा पर्ने असर न्यून गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए ।
यही फागुन ९ गते सोल्माबाट प्रदर्शन सुरु गरिएको उक्त नाटक बुइँपामा पु¥याएर टुङ्ग्याइएको छ । ग्रामीण भेगका बासिन्दाको जीवनमा आधारित कचहरी नाटक हेर्न उल्लेख्य सङ्ख्यामा स्थानीयको सहभागिता थियो । नाटकले दर्शकको मन जित्न सफल भएको श्रेष्ठ बताउँछन् । इलामका अनिल सुब्बाले निर्देशन गरे नाटकमा खोटाङकी पवित्रा राई, कविराज राई, सञ्जिव राई, योगिन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दीपेन्द्र राईले अभिनय गरेका थिए ।
नाटक देखाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गरेको थियो । नगरप्रमुख दीपनारायण रिजाल कचहरी नाटकबाट कुरीति र कुसंस्कार हटाउन सहयोग पुग्ने बताउनुहुन्छ । अब सो नाटक ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १३:०९ मा प्रकाशित






























