काठमाडौं । युक्रेनमा आक्रमणपछि रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनल र चीनका राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गरेका छन् ।
समाचार ऐजेन्सी एएनआईका अनुसार रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपति म्याक्रोनले युक्रेनको अवस्थाबारे छलफल गरेका हुन् । “फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्तामा फ्रान्सका राष्ट्रपति म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको“ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गरेको जनाइएको छ। दुवैपक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।
युक्रेनको राजधानी शहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई “सुरक्षा“ गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रुस विरुद्ध प्रतिबन्ध लगाएका छन् ।
त्यसैगरी पुटिनले चीनका राष्ट्रपति सी चिनफिङसँग पनि टेलिफोन वार्ता गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन् ।
“पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन) लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गर्नु भएको समाचार ऐजेन्सी एएफपीले जनाएको छ ।
त्यस्तै चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।
त्यसपछि बिहीबार राति उनीहरुबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ । सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार २०:४७ मा प्रकाशित






























