जब
अरूले दाबी गरिरहेको प्रेमपत्र
सुटुक्क आएर
पस्छ मेरो मनभित्र
तब
म के गरुँ ?
जब
अरूले दाबी गरिरहेको तालीे
बेगले उछिट्टिएर
पस्छ मेरो थालीमा
तब
म के गरुँ ?
जब
अरूले पेवा ठानेको बाटो
सर्पलेझैँ फणा फिजाएर
ठोक्किन आउँछ आफ्नो खुट्टामा
तब
म के गरुँ ?
आकाशका अगणित ताराहरू
लिम्बूवानको लोककथामा विचरित
बुढासुब्बाले हानेका मटेङ्ग्राहरू भएर
जब वर्षन थाल्छन्
मेरो मथिङ्गलको ब्ल्याक होलमा
तब
म के गरुँ ?
मलाई गुँड बनाएर बसेको
विवेक नाउँको एउटा चरो
कि त फन्को मारिरहन्छ आकाशलाई
कि त सपना देखिरहन्छ गुडुल्की मारेर
तब
म के गरुँ ?
तब
म के गरुँ ?
म डराउँछु
आफूभित्र एउटा कायर लुकिरहेको देखेर
म रमाउँछु
आफैँभित्र
कुदिरहेको एउटा पागलप्रेमीलाई भेटेर !
पागल नहुँदोहुँ त
कसरी हुन्थ्यो र उनको प्रेमपत्र मेरो साथमा
फक्रन नपाउँदै
बलत्कारित भएर मर्नुपर्ने
यस्तो अजीवको देशमा !
प्रेमपत्र लेख्न खोज्यो कि
कि त
हतकडीले बेरिएर कैदखानाको शृङ्गगार बन्नुपर्ने
कि त
भेरीमा लास बनेर बग्नुपर्ने
मेरो क्षितिज वारिको
यस्तो त्रासद परिवेशमा !
कृष्ण बाउसे
वि.सं.२०७८ फागुन १४ शनिवार ०८:४३ मा प्रकाशित






























