बाबुराम न्यौपाने “उत्स“, दमक,झापा
राष्ट्रप्रमुख सरकारप्रमुख संवैधानिक निकायका पदाधिकारी लगायत गन्नेमान्य व्यक्ति पदक वितरण समारोहमा उपस्थित थिए ।
उता पदकहरुबीच भने तर्कवितर्क चलिरहेको थियो ।
स्वर्ण पदकले रजत र कास्यपदक सामुन्ने गएर फुर्ति लगायो ।
“हेर केटा हो !! केहीबेरमै मेरो शाननै बेग्लै हुनेछ । म भीभीआइपीको सुकिलो गलामा पीङखेल्न पुग्नेछु । विजेताले गमक्क परेर मलाई मायालु स्पर्श गर्नेछन् । रसिला ओठले चुम्नेछन् । आहा !! म त कति भाग्यमानी । तिमीहरूले मलाई सलोट गर्नुपर्ने छ ।’
कास्यपदकले ओठ लेप्र्याउदै व्यङ्ग्य गर्यो।
‘तिम्रो चुरीफुरीले भरे पानी पिउने छ पर्ख न । जति ठूलो पद उति बढी …जति ठूलो पदक उति बढी …। मलाई त कसैको गनाउने दोषी पसिनामा नुहाउने रहर छैन । पदक पाउँनुपर्ने हकवालाको घाँटीको शोभा बन्न पाइन्छ कि पाइदैन चिन्ता त्यहाँछ ।’ रजत पदक भने मौनबस्यो ।
भव्य समारोहबीच पदक वितरण कार्यक्रम सम्पन्न भयो ।
घाँटीमा झुण्डिएका पदकहरुलाई छट्पटी हुन थाल्यो । पदक विजेताको गनाउने शरीर र सासबाट वाकवाकी लाग्लाजस्तो दुर्गन्धको हरक आइरहेको थियो ।
‘ल विदा हौं साथी हो । अब हाम्रो आकल झुकलमात्र देखादेख होला । तर हामीले कुन पापको सजाए पायौं हँ । यो सम्मान कि पदकको नाममा हाम्रो अपमान।बुझ्न गाह्रो भो ? ‘रजत पदकले हिंड्ने बेलामा साथीहरूलाई गुनासो सुनायो । हात हल्लाउँदै निन्याउरो मुखलाएर सबै छुट्टिए ।
स्वर्णपदकले कास्यपदकले भनेको कुरा झलझली सम्झ्यो । ‘जति ठूलो पद उति बढी दुर्गन्ध …स्पर्शको यस्तो खपिनसक्नुको दुर्गन्ध मैले कसरी सहनु।मत मर्नेभएँ ?’
केहीबेरमा विजेताले घरमा पुगेर घाँटीको पदक टेबुलमा राख्यो बल्ल स्वर्णपदकले रोकिन लागेको सास राम्ररी फेर्यो ।
उसले मनमनै भन्यो !!
‘हे ईश्वर !! यस्तो दुर्दशा कहिलेसम्म भोग्नुपर्ने हो । यति गाह्रो त आगोमा तताएर घनले पिट्दापनि भएको थिएन । सुकिला कपडामा छोपिएका यी तरोताजा देखिने ठूलामान्छेहरु यस्तो दुर्गन्धित भएर भित्रभित्रै कसरी कुहुदा रहेछन् हँ ?
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४३ मा प्रकाशित





























