गणेश ज्ञवाली, रिब्दिकोट ४, भैरवस्थान,पाल्पा
पराइका बन्धन च्यात्त पारी
यो धर्ति पूmल्ने सपना सिँंगारी
हिँड्नूछ हामी भयमुक्त भैकन
आदेश कस्को अब हुन्छ हैकम ?
१
त्यो दासतामा जकडिन्छ जीवन
हट्छौँ पछाडी जब हीन भैकन !
तसर्थ मुठ्ठी कसि जोश भर्नु छ
तोडेर बन्धन् अघि आज सर्नु छ
२
यो देश खानेहरु छन् तमाम
स्वदेश लुट्छन् गरि दुष्ट काम
पराइसामू पनि लत्रिदिन्छन्
यो प्रीय माटो सब बेचिदिन्छन् !
३
चिमोटिएको छ भुगोलमाथि
पाइन्न आफ्नै जल प्यूँन साथी !
आफ्नै भूमी आज पराइझैं छ
खेली जुवा साख लुटाइँदै छ !
४
विभेदको बन्धन चर्किदैँ छ
यो देश झन्झन् तल घर्किदैँ छ
सहेर यस्तो अझ बस्नु हुन्न
के स्वाभिमानी मन आज रुन्न ?
५
स्वाधीनता प्रीय स्वदेश निम्ति
यो प्राणभन्दा पनि प्रीय सम्झी
उत्सर्ग गर्दा सब चीज मिल्दछ
त्यस्मै नयाँ जीवन पुष्प खिल्दछ !
६
सपूत सच्चा जब देश पाउँछ
उन्मुक्तिको गीत सुसेल्छ, गाउँछ
स्वदेश निम्ती ‘ऊ’ मरेर ज्यूँदछ
पीयूष प्याला ‘ऊ’ भरेर प्यूँदछ !
७
स्वाधीनताको अब युद्ध चल्दछ
संघर्ष राँको ननिभेर बल्दछ !
माटो फुलाएर सुगन्ध चल्दछ !
समृद्ध भै धर्ति धपक्क बल्दछ !
८
तोडी पुराना सब मान्यताहरू
छ मुक्त संसार नयाँ छ आबरु
मालीक वा दास विभेद भैकन
मानिन्न कस्कै पनि आज हैकम !
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४४ मा प्रकाशित






























