ताराप्रसाद चापागाई, धुनिबेसी, धादिङ
मानिसहरू आधुनिकयुगका विभिन्न आविष्कारहरू संगै धेरै व्यस्त हुने गरेका छन् । मानिसको आवश्यकता ठूलो बनाउनुको साथै जीवनशैलीमा समेत परिवर्तन आएर अति व्यस्तता र सधै भागदौड हुने गरेकोछ । सबैलाई हरेक कुराहरू छोटो र छिटो होस् भन्ने अपेक्षा रहने गर्छ । त्यसै अनुरुप अहिलेको समयमा साहित्यका छोटा विधाहरू बढि लोकप्रिय भएको पाइन्छ । यस्तै छोटा विधाहरू मध्ये नेपाली साहित्यमा प्रयोगात्मक लघुत्तम काव्यिक विधाको रुपमा उदाएको टुक्का कविता पनि एक हो ।
बि.सं.२०७७ श्रावण २५ गतेबाट लेखन प्रारम्भ भएको टुक्का कविताको परिकल्पनाकार÷ प्रवर्तक ताराप्रसाद चापागाईं (पङ्तिकार) हुन् । समयसापेक्ष रुपमा दुई हरफमा नै पूर्ण हुने गरि लेखिने टुक्का कवितामा दुवै हरफमा अक्षर सङ्ख्या बराबर हुनुको साथै तुक् अर्थात अन्त्यानुप्रास मिलाएर लेखिने गर्छ ।
लेखन प्रारम्भ भएको करिब डेढ बर्षको अवधिमा नै उन्नाईस हजार टुक्का प्रेमीहरू तथा करिब १ हजार टुक्का सर्जकहरू टुक्का लेखन अभियानमा सहभागी रहनु नै टुक्काले छोटो समयमा प्राप्त गरेको लोकप्रियताको प्रमाणको रुपमा लिन सकिन्छ । लघुत्तम नव काव्यिक विधाको रुपमा नेपाली साहित्य आकाशमा उदाएको टुक्का कविताको उन्नयनमा मिति २०७७ फाल्गुण २७ गते गठन भई २०७८ श्रावण ४ गते दर्ता भई सरकारी मान्यता प्राप्त गरेको टुक्का साहित्य समाजका सल्लाहकारहरू लगायत सम्पूर्ण संस्थापक पदाधिकारीहरू, मिती २०७८ भदौ १७ गते गठन भएको टुक्का अभियन्ता समुहका सम्पूर्ण अभियन्ताहरू तथा करिब एक हजार टुक्का सर्जकहरू तथा उन्नाईस हजार टुक्का प्रेमीहरूको साथ सहयोग र अथक प्रयासले छोटो समयमा यति धेरै सफलता प्राप्त गर्न सफल भएको हो ।
टुक्का कविताका केही नियमहरू
१. टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने ।
२. दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनुपर्छ । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
३. दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ ।
४. पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
५. टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएको छ,
(१) छन्द टुक्का
(२) स्वच्छन्द टुक्का
उदाहरण स्वरुप केही टुक्काहरू,
(१) छन्द टुक्का : छन्द झ्याउरे
मौसम हेर सुन्दर भयो यो मन रमायो
आएर कोही हृदय दिई हात यो समायो ।
(२) स्वच्छन्द टुक्का
कुरेरै जाने भयो सारा जिन्दगानी
कतै नि भेटिन यो जीवनको रानी ।
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४८ मा प्रकाशित






























