back
CTIZAN AD

राष्ट्रिय परिचय–पत्र, प्रविधिमा एउटा फड्को

वि.सं.२०७८ चैत १ मंगलवार

1.7K 

shares

‘प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सान, बहु–उपयोगी राष्ट्रिय परिचय–पत्र हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ ०७५ असोजमा स्थापना भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने ‘व्यक्तिगत घटनादर्ता’ कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिहरुको विद्युतीय पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी पाएको छ । यसअघि मानिसको व्यक्तिगत घटना अभिलेखको लागि पञ्जिकरण विभाग थियो । यसलाई प्रतिस्थापन गर्दै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगद प्रवाह र व्यक्तिहरुको विद्युतीय पहिचान स्थापना गर्ने बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य थपेर सरकारले राष्ट्रिय परिचय–पत्र तथा पञ्जिकरण विभागको स्थापना गरेको हो ।

विभागको स्थापना भएको छोटो समयमा नै करिब ६० नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरण संकलन भएको विभागले जनाएको छ । यो रफ्तार अन्य सरकारी निकायको तुलनामा निकै नै तिब्र हो ।

विभागले कसरी काम गरिरहेको छ ?

नागरिकहरूको सुविधालाई मध्यनजर गर्दै विभागले हाललाई ७० वटा जिल्ला प्रशासन कार्यालय, १९ वटा इलाका प्रशासन कार्यालयहरू तथा काठमाडौं महानगरपालिकाका ८ वटा केन्द्रहरूमा स्थायी स्टेसन स्थापना गरेर काम गरिरहेको छ भने बाँकी ठाउँहरूमा पनि चाडैँ नै स्टेसन स्थापना गर्ने तयारी भैरहेको विभागले जनाएको छ ।

राष्ट्रिय परिचय–पत्र व्यवस्थापन निर्देशक ललित बस्नेतका अनुसार अहिलेसम्म ४२ वटा जिल्लामा राष्ट्रिय परिचय–पत्रले अभियानको रूप ग्रहण गरिसकेको छ । त्यसमध्ये पनि २८ जिल्लामा अभियान सकिएको छ भने १४ जिल्लामा जारी छ ।

राष्ट्रिय परिचय–पत्र प्रविधिको क्षेत्रमा नयाँ फड्को

पछिल्लो प्रयास सार्थक भएमा अबको केही वर्षमा राष्ट्रिय परिचय–पत्र प्रविधिको क्षेत्रमा नयाँ फड्को हुने निश्चित छ । सरकारी कार्यालयहरू तथा बैंक तथा वित्तिय संस्थाहरू मार्फत नागरिकले पाउने सेवासुविधाहरू एकै ठाउँबाट पाइने छ । त्यसको लागि काम सुरू भैसकेको निर्देशक बस्नेतले बताएका छन् ।

उनका अनुसार अहिलेलाई राहदानी विभाग र अध्यागमन विभागलाई राष्ट्रिय परिचय–पत्रसँग अन्तर आबद्धता गरिसकिएको छ भने अबको केही वर्षसम्ममा वाँकी सबै निकायसंग अन्तर आबद्धता गरिसकिने छ ।

राहदानी विभागसँग राष्ट्रिय परिचय–पत्रलाई आबद्ध गरिएसंगै ई(पासपोर्ट बनाउनका लागि सरकारले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ।

सरकारी उद्देश्यअनुरूप नै विभागको काम

सार्वजनिक सेवामा क्रमशः नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा यहि विभागमार्फत सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरेर राज्यबाट प्राप्त हुने सेवासुविधाहरूलाई एकीकृत गर्ने उद्देश्यले काम भैरहेको निर्देशक बस्नेतले बताए ।

विभागले जारी गर्ने उक्त परिचयपत्रमा सेक्यूरिटी चिप्स जडान गरिएको हुन्छ । अहिलेलाई यो परिचय पत्र निःशुल्क उपलब्ध गराइएको जनाइको छ ।

यसरी गर्नुहोस् राष्ट्रिय परिचय–पत्रको लागि अनलाइन आवेदन

तर, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले नागरिकताको सक्कलप्रति अनि विवाहित व्यक्तिले विवाहदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था छ तर, नागरिकतामा नाम समावेश भएको अवस्थामा भने विवाह दर्ताको प्रमाण–पत्र नभए पनि हुने व्यवस्था छ । तर राष्ट्रिय परिचय–पत्र दर्ताका लागि भने व्यक्ति आफैँ उपस्थित हुनुपर्छ, अरूले गएर वा उपस्थित भएर मिल्दैन ।

राष्ट्रिय परिचय–पत्र नागरिकताभन्दा फरक

विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाविष्ट गरिएको हुन्छ । जुन अहिलेको नागरिकतामा छैन ।

हातका सबै औंलाको छाप र आँखाको पर्दासमेत स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिने हुँदा त्यो बढी भरपर्दो हुने बस्नेतको भनाइ छ । सो प्रणालीमा अनुहार पनि रीड गर्ने र आँखाको रेटिना पनि रीड गर्ने पद्दती जडान गरिएको छ । अहिले भने सर्वसाधारण नागरिकले यहाँ गएर पहिला नै अनलाइन आवेदन दिन सक्छन् ।

विभागले गरेको अध्ययनअनुसार अहिलेसम्म कुनै पनि व्यक्तिको विवरण अर्को व्यक्तिसँग मेल खाएको छैन। मानिसको नाम, थर, बुवाको नाम, आमाको नाम, ठेगाना सबै मिले पनि हातका औँलाका रेखाहरू तथा आँखाको रेटिना कसैको पनि नमिलेको विभागको भनाइ छ । यसकारण व्यक्तिको सही पहिचान हुने विभागले बताएको छ ।

सम्पूर्ण रूपले राष्ट्रिय परिचय–पत्र लागू भएको अबस्थामा भने अपराध नियन्त्रणमा त सहयोग पुग्छ नै । यसले दोहोरो नागरिकता लगायत मानिसहरूले अख्तियारको दुरूपयोग गर्ने कार्यसमेत नियन्त्रण हुने देखिन्छ ।

प्रविधि राम्रो भए पनि झण्झटिलो हुने चिन्ता

सरकारले बनाएको सोचअनुसार राष्ट्रिय परिचय–पत्र प्रविधि युक्त भए पनि सबै मानिसहरूकाबीच यसको सही प्रचार नहुँदा भने अलिबढी झण्झटीलो हुने चिन्ता आम मानिसमा रहेको पाइन्छ । तर, निर्देशक विष्ट भने राष्ट्रिय परिचयपत्रले व्यक्ति प्रमाणीकरण गर्न झन् सहज बनाउने बताउँछन् । नागरिकताका आधारमा कसैको प्रमाणीकरण गर्नुपर्दा अनिवार्य सम्बन्धित जिल्ला प्रशासन कार्यालय पुग्नैपर्ने भए पनि राष्ट्रिय परिचयपत्रको व्यवस्था हुँदा त्यो झन्झट अन्त्य हुने उनको भनाइ छ ।

कति समयमा पाइन्छ परिचय–पत्र

“अहिले अनलाइनमार्फत आफ्नो विवरण भरेर आवश्यक कागजात बोकेर आएका सेवा ग्राहीहरूले तत्काल नै परिचयपत्र नम्बर प्राप्त गरिरहेका छन्,” निर्देशक वस्नेतले भने, “तर प्रविधिमा कुनै समस्या आएको अबस्थामा भने नम्बर प्राप्त गर्न केही समय लाग्नसक्छ ।”

परिचय–पत्रको नम्बर तत्कालै पाए पनि परिचय–पत्र नै प्राप्त गर्न भने समय लाग्ने देखिएको छ ।

के राष्ट्रिय परिचयपत्र सुरक्षित छ ?

राष्ट्रिय परिचयपत्र उपयोगी हुने सरकारी भनाइ रहे पनि व्यक्तिको गोप्य सूचनाको संरक्षण नहुने हो कि भन्ने चिन्ताहरू मानिसहरूमा देखिएको छ । पुरानो राहदानी विभागमा परिचयपत्रको आवेदन दिन पुगेकी काठमाडौंकी एक महिलाले शंसय व्यक्त गरिन् ।

तर सरकारले भने सम्पूर्ण सुरक्षा सहित राष्ट्रिय परिचय–पत्र वितरणको अभियान सन्चालन गर्न लागेकोले ढुक्क भएर अभियानमा साथ दिन नागरिकहरूलाइ अनुरोध गरेको छ ।

विभागका अननुसार राष्ट्रिय परिचय–पत्रलाई एउटा छुट्टै प्रविधि यूक्त विद्युतीय व्यवस्थापन प्रणालीमा आबद्ध गरिएको छ । जसले गर्दा कुनै पनि व्यक्तिको सबै विवरण एक अर्कासँग मिल्दैन । अर्को तर्फ सबै निकायहरूले उचित कारण दर्शाएर माग नगर्दासम्म व्यक्तिको सबै विवरण उपलब्ध नगराउने व्यवस्था गरिएको छ । जस्ले गर्दा व्यक्तिको गोपनियता कायम गर्न सम्भव छ ।

यसअघि जारी भएका अधिकांस परिचय–पत्रहरूमा व्यक्तिको वैयक्तिक विवरणहरूमात्र लिइएको हुन्थ्यो । तर, यो परिचय–पत्रमा व्यक्तिको वैयक्तिक विवरणका साथै बायोमेट्री विवरण तथा जैविक विवरणहरू समावेश गरिएकोले यो निकै सुरक्षित भएकाे बस्नेतले बताए ।

वि.सं.२०७८ चैत १ मंगलवार १६:४७ मा प्रकाशित