मचिन्द्र खत्री,धरान, सुनसरी
म अङ्गअङ्ग फुल्छु यो, वसन्त साथ पाउँदा
र फागुनी सुगन्धको मिठास मात आउँदा ।
सबै चरी यता बसे सभा भयो बिहानको
झुमे यतै प्रभातमा सबै बने समान यो ।१।
यताउता उजाडको छ दृष्टि यो घुमाउँदा
निकै खुसी भएँ म ता सबै ममा रमाउँदा ।
न पात छन् शरीरमा, सबै झरे उडे कतै
वसन्तको प्रभावमा र कोपिला फुले यतै ।२।
छ माहुरी रसादिमा न फस्छ यो बिषादिमा
चुमेर घुम्छ फूलमा,न फस्छ यो फसादिमा ।
मिठाइ भैदिएँ म ता चुस्यो सबै पराग ती
सुनाउँदै गयो यतै मिठासका विराग ती ।३।
जवान भै म मस्तमा छु बैँसको उमङ्गले
फुलेर मोहनी भरी म फुल्छु रक्त ढङ्गले ।
न मान्छु लाज यो कतै न बस्त्र यो छ देहमा
समान भाव राख्छु यो न राख्छु पाप हेयमा ।४।
फुलेर फूल झर्छ यो, र चाह मर्छ मर्छ यो ।
छ रीत बर्ष बर्षमा र चक्र नित्य चल्छ यो ।
झरेर पात आउँछन्,नयाँ नयाँ परी बनी
सदा छु काव्य छन्दमा, अनेक भावको धनी ।५।
मुहान खुल्छ हाइकू, फुलेर पात पातमा
बिहान सूर्यदेवको, चढेर दिव्य मातमा ।
बसेर रूख फेदमा अनेक काव्य लेखिने
पिएर मात्छ यो नशा न हुन्छ मात छेकिने ।६।
तरङ्ग रङ्ग रङ्गका बनेर बग्छ भावना
समान फुल्छ फूल भै ,चढेर वृक्ष चाहना ।
उमङ्ग माग्छ लेखनी बसेर वृक्ष छेउमा
न हुन्छ दृष्टि देखिने समान बुद्धि भेउमा ।७।
छन्द : पञ्चचामर
वि.सं.२०७८ चैत १२ शनिवार ०७:१९ मा प्रकाशित






























