पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”
मन्त्री आलेले नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै विमानस्थलले अन्तर्राष्ट्रिय पर्यटन बजारसँग पोखरालाई जोड्ने विश्वमाझ जोड्ने समेत बताए । उनले भने “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउने छ ।”
रासस
वि.सं.२०७८ चैत १३ आइतवार १०:१० मा प्रकाशित






























