काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरु स्थानीयततहको निर्वाचनका विषयमा छलफल गर्न काठमाडौं आएका छन् ।
उनीहरुले स्थानीयतहको निर्वाचनमा भरतपुर महानगरपालिका अरु दललाई दिन नसकिने भन्दै पार्टीका वरिष्ठ नेता तथा गठबन्धनका तर्फबाट निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
पौडेललाई पार्टीको १४ औं महाधिबेशन अघि भरतपुर पुगेर गठबन्धनका कारण पार्टी सकिने भन्दै गरेको भाषणको स्मरण गराउँदै भरतपुर महानगरपालिका अरु दललाई छाड्न नसकिने बताएका हुन् ।
चितवनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले विगतमा कांग्रेसको प्रभाव क्षेत्र अरुलाई दिएका कारण असर परेको भन्दै अहिले त्यस्तो नहोस् भनेर पार्टीलाई बेलैमा सजग गराएको बताएका छन् ।
कोइरालासँगै टेकप्रसाद गुरुङ, वर्तमान तथा पूर्वजिल्लासभापति विहीवार पौडेल निवास पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
भेटमा वरिष्ठ नेता पौडेलले पार्टीका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पनि यी कुरा राख्न उनीहरुलाई सुझाव दिएका थिए ।
यसअघि नेपाली कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले कुनैपनि दलसँग चुनावी तालमेल गरेर जान नसकिने बताउँदै आएका थिए । तर, गत चैत २१ गते गठबन्धनमा रहेका पाँच दलका जिल्ला नेताहरुले चितवनका सबै क्षेत्रमा चुनावी तालमेल गरेर जाने भन्दै हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेका थिए ।
चितवन नेपाली कांग्रेशका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकिकृत समाजवादी) का इन्चार्ज कृष्ण प्र. खनाल, जनता समाजवादी (जसपा) का अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष डम्बर पुरीसहितको बैठकले स्थानीय निकायको निर्वाचनमा गठबन्धनमा सहभागी दलहरुका बीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेको बताइएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको प्रमुखमा रेनु दाहाललाई नै दोहोर्याउने बताउँदै आएको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सो पार्टीका अध्यक्ष प्रचण्डले ‘प्रचण्डको छोरी रेनु दाहाल नभएर आफु रेनु दाहालको बुवा भनेर चिनिन पाएकोमा’ गर्व लागेको बताएका थिए ।
वि.सं.२०७८ चैत २४ बिहीवार १५:४४ मा प्रकाशित






























