काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरमा समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा काठमाण्डौ महानगर दुई ‘इमानदार, सक्षम, परिपक्व’ महिलालाई जिम्मा लगाउन आह्वान गर्दै बास्कोटा र तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गर्दै भनेको छ–‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुर्नस्थापित गरौँ’ भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय समितिले गरेको हो ।’
को हुन् त मेयर र उपमेयरका उम्मेदवार बास्कोटा र तुलाधर ?
प्रवक्ता पाठकका अनुसार समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।
यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।
वि.सं.२०७८ चैत २८ सोमवार ११:१२ मा प्रकाशित





























