जे शि गाउँले, कोहलपुर, बाँके
केही दिन
अरु घटाइ जीवनको आयु
मुखादेश पठाएको हुँ भगवानसङ्ग !
मञ्जुरी दिन्छन कि दिदैंनन् ?
प्रेमको डोरी पर–पर हुँदै परै तन्किए पछि
खासै खुशी थिएन जीवन –जीवन देखि
पीडा,ग्लानी र पश्चातापको रापले
रापिए पछि यो छाती
धेरै पटक मागेको हुँ हिमालसङ्ग उधारोमा शितलता ।
माया, सद्धभाव, प्रेरणाले
तिर्खाए पछि यो मन
मागेको हुँ बादलसङ्ग उधारोमा बर्षा
बादलको सहिष्णुताले बर्सिएपछि आँखाको आकाश
अतृप्त मन तृप्त भएकै हो कैयन रात ।
माटो, आमा, घर
हावा, पानी,आकाश
भुले देखि जीवनको कर्तव्य
बग्दै सुक्दै बग्दै ठोकिँदै पहराहरुसङ्ग
नदी जसरी,
साँच्चै नदी जसरी बगेकै हो जीवन
र सिकेको हुँ
जीवन जिउनुको कला पनि नदी सङ्गै उधारोमा ।
प्रेम, सद्भाव, समानता
सम्मान, आदर्श, समदर्शिता
जीवनको कटु सत्य
बुझे देखि जीवनले
जीवन –जीवन जस्तै भएको हो ।
यदि,
मेरो मुखादेश मञ्जुरी छ भने भगवान
मृत्यु पनि स्विकार्य छ मलाई उधारोमै ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४६ मा प्रकाशित






























