काठमाडौं । रुस–युक्रेन युद्ध भएको ५६ दिन रुसले यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारियुपोललाई कब्जामा लिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा विजयको घोषणा गरेका छन्। उनले सहरलाई यूक्रेनबाट मुक्त गरेको बताएका छन् ।
समाचार एजेन्सी एएफपीले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एजोभस्टाल प्लान्ट बाहेक सम्पूर्ण मारियुपोललाई रुसी सेनाले कब्जामा लिएको जनाएको छ ।
अर्कोतर्फ रुसी सेनाले आक्रमणलाई तिब्र बनाएको छ । बुधवार युक्रेनमा एकै दिनमा ११ सय आक्रमण भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबासमा २०,००० भाडाका सैनिकहरू तैनाथ गरेका छन्। रुसले सिरिया, लिबिया र जर्जियाबाट यी भाडाका सैनिकहरूलाई आफ्नो सेनाको अज्ञात समूह वाग्नर समूहमार्फत तैनाथ गरेको छ।

लुहान्स्कको ८० प्रतिशत भाग कब्जामा
लुहान्स्कका गभर्नर सेर्ही गैडाईले अप्रिल १८ मा क्रेमिना कब्जा गरेपछि रुसी सेनाले निरन्तर अगाडि बढेको बताए। अहिलेसम्म रुसी सेनाले यस क्षेत्रको ८० प्रतिशत कब्जा गरेको छ ।
युद्ध रोक्न संयुक्त राष्ट्र महासचिवले गरे अपिल
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रुसलाई युद्ध रोक्न निरन्तर आग्रह गरिरहेका छन् । उनले फेरि रुसी राष्ट्रपतिलाई युद्ध अन्त्यका लागि आमनेसामने बसेर वार्ता गर्न आग्रह गरेका छन् । यससँगै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि भेट्न आग्रह गरेका छन् ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १४:१४ मा प्रकाशित






























