निरूविन्दु परियार, जल्ढक्का, कालेबुङ भारत
मैले अनुभव गरेको छु
उसको छाती भतभती पोलेको
तर
आगोले होइन
दुःखले होइन
रोगले होइन
न त मेहनतले नै हो
उसको छाती पोली बस्नुको कारण
सायद,
उ स्वंय हो
उसले मनभित्र घमण्डको अङ्गेटीमा
इर्ष्याको आगो फुकेको छ
त्यो न त बल्न सक्छ, न त निभ्न नै सक्छ
त्यसैले उ जलिबस्छ,
जलनहरूले मस्तिष्क छेंडि सकेकोछ
जलनहरूले हृदय अठ्याई सकेकोछ
जलनहरूले पशुत्व जन्माई सकेकोछ
उ जल्नुको मूल उदेश्य
उसले केही गर्न नसकेरै हो
अर्काको बराबरी गर्न नसकेरै हो
भन्दै अड्कल लगाउँछ
भावनाका एक बथान छिमेकी
उ जल्दा अरू कसैको क्षति हुँदैन
उ जल्दा उसको फाईदा पनि हुँदैन
उ जल्दा अर्काको केही बिग्रँदैन
थाह छ उसलाई,
तर पनि उ जल्न पटक्कै छोड्दैन
कहिले धनको रापले जल्छ
कहिले इर्ष्याको तापले जल्छ
जल्छ निरन्तर…
जो जल्छ, उ आफै खरानी बन्छ
भन्दै हिँडिबस्छ
समयका एक हुल सेता परेवा
उ जल्नुको मूल उदेश्य
उसले केही गर्न नसकेरै हो
अर्काको बराबरी गर्न नसकेरै हो
भन्दै अड्कल लगाउँछ
भावनाका एक बथान छिमेकी
जल्न छोड्नु हुँदैन उ
उ जल्छ र नै त हात सेक्नु पाइन्छ
उ जल्छ र नै त जलाउन मज्जा आउँछ
‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’
कानमै गुञ्जिबस्छ
आमै–बाबैका ती पूराना उखानहरू
‘चाउरी पर्छ मरीच आफ्नै रागले’
उखान, जहाँ यथार्थ हुन्छ,
उखान, जहाँ ब्यङ्ग्य हुन्छ,
उखान, जहाँ अनुभव हुन्छ !!
जल्नेहरू जलिरहोस म चैं हिँडें इतिहास रच्न !
वि.सं.२०७९ वैशाख १० शनिवार ०६:१३ मा प्रकाशित






























