काठमाडौं । नेपाल टेलिकमले ई-सिम दिने भएको छ । टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको हो ।
नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच आइतबार सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबलले टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।
अधिकृत पहाडीले टेलिकमले नयाँ प्रविधि भित्र्याउने क्रममा ई-सिम समेत उपलब्ध गराउने भएको बताउँदै यसका लागि आवश्यक काम छिट्टै सुरु हुने बताइन् । अल्टिमेटका अधिकृत आनन्दले ई-सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई-सिम लिन सक्ने छन् ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १२:५१ मा प्रकाशित






























