काठमाडौं । रुसी आक्रमणबाट युक्रेनको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धका कारण देशले ६ सय अर्ब डलरभन्दा बढीको नोक्सानी व्यहोरेको र सयौं उद्योगधन्दा ध्वस्त भएको बताएका छन् । यसबाहेक करिब २ हजार ५ सय किलोमिटर सडक र तीन सय पुल भत्किएको उनले जनाए ।
अर्कोतर्फ, पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रुसको तेल उत्पादनमा पनि ठूलो धक्का लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी बैंक र जहाजमाथिको प्रतिबन्धका कारण यस वर्ष यसको तेल उत्पादन १७ प्रतिशतले घट्ने छ ।
युद्धमा धनको क्षतिभन्दा जनको क्षति पनि निकै ठूलो भएको रोयर्टसको रिपोर्टमा उल्लेख छ । रोयर्टसको रिपोर्टअनुसार युद्धमा दुवै पक्षबाट गरि लाखभन्दा बढी मानिस मारिएका छन् ।
रुसले के–के गुमायो ?
२७ अप्रिलसम्मको तथ्यांकअनुसार युद्धमा परि रुसी पक्षका २२ हजार ४ सय सैनिक मारिएका छन् । युद्धमा परि मारिने सैनिकको संख्या यो निकै ठूलो पनि हो ।
रुसले युद्धमा ८ पानी जहाज, १५५ हेलिकोप्टर, ९३९ टैंक, ७६ फ्यूल टैंक, १८५ फाइटर प्लेन, ४२१ तोप, २०७ ड्रोन, १६६६ गाडि, २ हजार ३४२ बख्तरबन्द गाडि, १४९ मल्टीपल रकेट लञ्चर, ७१ एयरक्राफ्ट गुमेको छ ।
युक्रेनले के–के गुमायो ?
युद्धमा रुसको भन्दा धेरै जनधनको क्षति युक्रेनले व्यहोरेको छ । युद्धको कारण युक्रेनको धेरै भौतिक संरचना नष्ट भएका छन् ।
रुसी आक्रमणमा परि युक्रेनको ६८ प्रशासनिक क्षेत्र ध्वस्त भएको छ । त्यस्तै युक्रेनका मुख्य ११ सैन्य हवाई क्षेत्र, १७ हवाई अड्डा र २ बन्दरगाह पूर्णं नष्ट भएका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार गत २४ फेब्रुअरीसम्म युद्धका कारण युक्रेनबाट झण्डै ५२ लाख नागरिक विस्थापित भए । युक्रेन छाडेका अधिकांश नागरिक पोल्याण्डको शरणमा छन् । यसबाहेका रोमानिया, हंगेरी, मोल्डोवा, स्लोभाकिया, बेलारुसमा पनि लाखौंको संख्यामा छन् ।
युद्धमा परि ६ हजार नागरिकले ज्यान गुमाएको राष्ट्र संघको तथ्यांकमा उल्लेख छ । बताइएअनुसार युद्धमा सबैभन्दा बढी युवा उमेरका मानिसहरु मारिएका छन् ।
तर, कतिपय मिडियाले राष्ट्र संघको तथ्यांक भरपर्दो नभएको बताएका छन् । रोयर्टसका अनुसार मरियुपोल शहरमा मात्रै २० हजार मानिस मारिएका छन् । युद्धमा रुसी पक्षको तथ्यांक सार्वजनिक भएको भए पनि के–कति युक्रेनी सैनिक मारिए स्पष्ट छैन ।
युक्रेनलाई १ ट्रिलियन डलर नोक्सान हुन सक्ने
युक्रेनका प्रधानमन्त्री डेनिस श्यामलले द इकोनोमिस्टमा लेखेको स्तम्भमा युक्रेनको ठूलो आर्थिक नोक्सान भएको बताएका छन् । युद्धका कारण युक्रेनको अर्थतन्त्रलाई १ ट्रिलियन डलरको नोक्सान हुने डेनिसको अनुमान छ । यो घाटा २०२१ को जीडीपीको पाँच गुणा बराबर हो।
युरोपभरि मूल्यवृद्धि
रुसले युक्रेनलाई सहयोग गरेको आरोपमा पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यासको आपूर्ति बन्द गर्दै यसको विरुद्धमा उभिनेलाई नछोड्ने स्पष्ट सन्देश दिएको छ । दुवै युरोपेली देशहरूले रुबल मुद्रामा भुक्तानी नगरेको आरोप लगाइएको छ। रुसको निर्णयका कारण युरोपेली ग्यासको मूल्य २४ प्रतिशतले बढेर एक महिनाकै उच्च विन्दुमा पुगेको छ । यो एक वर्ष अघिको तुलनामा झण्डै ७ गुणा बढी हो । जसले समग्र मूल्यवृद्धिमा भूमिका खेल्नेछ । तेलको मूल्यवृद्धिकै अनुपातमा युरोप अन्य वस्तुहरुको पनि मूल्य बढिरहेको बताइएको छ । तेलको मूल्यवृद्धि सिधा नागरिकको भान्सासम्म पुगेको देखिन्छ । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
आक्रामक पुटिनको चेतावनी – रुस आणविक हतियार प्रयोग गर्न हिचकिचाउँदैन
वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:१७ मा प्रकाशित





























