काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्दै आएको छ ।
औद्योगिक क्षेत्रमा गरिएको लोडसेडिङको उद्योगीहरुले चर्को विरोध गरेका छन् । औद्योगिक क्षेत्रको लोडसेडिङले चर्को आलोचना खेपिरहेको प्राधिकरणले भारतबाट महँगो मूल्यमा बिजुली किन्ने निर्णय गरेको छ ।प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले डेढ सय मेगावाट बिजुली महँगोमै किनेर ल्याउन स्वीकृति दिएको हो ।
एक महिना भन्दा बढी प्राधिकरणले आफ्नो ब्यालेन्ससीट बिग्रिने भन्दै भारतबाट महंगोमा बिजुली खरिद गरेको थिएन् । आद्योगिक क्षेत्रको लागि बिजुली नकिन्दा उद्योगहरुमा १८ घण्टा सम्म लोडसेडिङ भइरहेको छ । तर उद्योगीहरुले नियमित रुपमा बिजुली उपलब्ध गराइदिन प्राधिकरणलाई आग्रह गर्दै आएका छन् ।
चुनावको मुखमा विरोध हुने भन्दै प्राधिकरण नेतृत्वले ग्राहस्थ उपभोगलाई नचलाएर ओद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको छ । उर्जामन्त्री पम्फा भुसालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन महँगोमा भएपनि बिजुली किन्नुपर्ने जानकारी गराएकी थिईन् ।
प्रधामन्त्री देउबाले मन्त्री भुसालको धारणामा सकरात्मक संकेत दिएपछि सोमबार बिहान प्राधिकरणको बोर्ड बैठक बसेर भारतबाट महंगोमा बिजुली खरिद गर्ने निर्णय गरेको जनाइएको छ ।
जसअनुसार अब प्राधिकरणले १२ रुपैयाँ भारु भन्दा बढी मुल्यमा बिजुली खरिद गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरण बोर्डको बैठकले आवश्यकता अनुसार भारतबाट महँगोमा भएपनि विद्युत किनेर व्यवस्थापन गर्ने जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ ।
भारतमा कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको हिस्सा ठुलो छ । रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको मुल्य चार गुणासम्म बढेको छ, भने कोइलाको अभाव छ । जसका कारण थर्मल प्लान्टहरु बन्द हुन थालेका छन् । थर्मल प्लान्टको विद्युत कटौती हुन थालेका कारण भारतमै लोडसेडिङ गरिएको छ । थर्मल प्लान्टहरुसँग सिधै उद्योगहरुले किन्न थालेका कारण सप्लायरहरु प्रतिस्पर्धी बजारमा नहुँदा नेपालले विद्युत पाउन छाडेको हो । नेपालले प्रतिस्पर्धी बजारमा ५ सय मेगावाटसम्म बिड गर्न पाउँछ ।
अधिकतम र न्युनतम मुल्य १२ रुपैयाँ भारु पुगेको छ । करिव १ महिना अझै समस्या हुने अनुमान छ । नेपालको जडित क्षमता २२ सय मेगावाट पुगेको छ । अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओर) प्रकृतिका छन् । जसका कारण हिउँदमा ३२ देखि ४० प्रतिशत मात्रै उत्पादन हुने गरेको छ । जसका कारण हिउँदको माग पुरा गर्न ३० प्रतिशतभन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्था छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव नभएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन् । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताए । उनले भने, ‘नीजि क्षेत्रलाई हतोत्साही गर्न हुँदैन । कुनैपनि बहानामा अब निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव छैन । हामी भन्दैछौ, खुलस्त हौंऔ, समस्या र जोखिम बाँडौं र त्यहीबाट समाधान निकालौं ।’
वि.सं.२०७९ वैशाख २० मंगलवार १०:३२ मा प्रकाशित






























