काठमाडौं । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी परेसँगै भरतपुर महानगरको चुनावी नतिजा कसको पक्षमा आउला भन्ने प्रश्न निकै चासोमा छ ।
अहिले कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई पार्टीबाट निष्कासन गरेको छ । यद्यपी कांग्रेस पृष्ठभूमिबाटै लामो राजनीति गरेका पौडेलले राम्रैसँग कांग्रेसको मत काट्ने देखिन्छ । गठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई सहज हुने अनुमान गरिएका बेला पौडेलको उम्मेदवारीले अहिले जित्नेमा आशंकाहरु बनाएका छन् ।
यद्यपी, दाहालले सहज ढंगले जित्ने दाबी गरिरहेकी छिन् । उनले यसअघिको आफ्नो कामको आधारमा पनि मत बढ्ने अपेक्षा गरेकी छिन् । दाहालले पौडेलको पक्षमा गठबन्धनबाट धेरै मत नजाने दाबी गरेकी छिन् ।
दाहालभन्दा पौडेल बलिया
यसअघिको चुनावी नतिजालाई हेर्दा भरतपुरमा माओवादी केन्द्रको भन्दा कांग्रेसको मत धेरै बलियो देखिन्छ । कांग्रेसको तर्फबाट उपमेयर बनेकी पार्वती शाह ठकुरीले भन्दा दाहालले ४ हजार ७० मत कम पाएकी थिइन् । ठकुरीले पाएको मतलाई हेर्दा दाहालले कांग्रेसकै ८५ मत पाएर जितेको अनुमान गर्न सकिन्छ । यद्यपि, चुनावमा उम्मेदवारको पक्षमा पनि पार्टीलाई भन्दा बेग्लै मत जाने गरेको अवस्था पनि छ ।
भरतपुर महानगरमा २९ वडामध्ये ०७४ मा भएको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले जम्मा तीन वटा वडा जितेको थियो । यद्यपी, तिन वटै वडामा तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)बीच निकै कडा प्रतिस्पर्धा भएको थियो । माओवादी आफुले जितेका बाहेक अन्य तीन वटा वडामा मात्रै दोस्रो बनेको थियो । अन्य वडामा माओवादीको अवस्था त्यति उत्साहपूर्णं थिएन ।
मेयरमा माओवादीलाई सघाएको कांग्रेसले भरतपुर महानगरको २९ वडामध्ये १२ वटा वडा जितेको थियो । १२ वटा वडा जितेको कांग्रेसले नजितेका ३ वडा बाहेक सबैमा दोस्रो प्रतिस्पर्धी बनेको थियो । यसअघिको नतिजालाई हेर्दा भरतपुरमा समग्र रुपमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा थियो ।
कांग्रेसले कारबाही गरेको भएपनि स्वतन्त्र उम्मेदवारी दिएका पौडेल यसपटकको नतिजा आफ्नो पक्षमा आउने दाबी गर्दछन् । उनले आफ्नो विजय स्वभाविक भएको बताएका छन् । पौडेलले भनेका छन्, “यसअघिको नतिजा र पछिल्लो माहोलले पनि मेरो पक्षमा मत बलियो बनाएको छ । केही अवरोधहरु भएपनि कांग्रेसको जनमतबाट चुनाव जित्नेमा दुविधा छैन ।”
कांग्रेस फुट्दा सुवेदीलाई थप सजिलो
०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मेयर पदमा निकै थोरै मतले एमालेका उम्मेदवार देवी ज्ञवाली हारेको भएपनि एमालेले महानगरका धेरै वडा जितेको थियो । मेयर जितेको माओवादी केन्द्रले २९ मध्ये ३ वडा जित्दा एमालेले १४ वडा जितेको थियो । आफुले नजितेको वडा नं. ६ र १४ बाहेक अन्य वडामा एमाले दोस्रो बनेको थियो ।
१४ वडामा जित हात पार्नु र १३ वडामा दोस्रो प्रतिस्पर्धी हुनुले पनि एमाले समग्र महानगरमा सबैभन्दा बलियो पार्टी भन्ने देखिन्छ । तत्कालिन चुनावी नतिजालाई हेर्दा एमालेलाई आगामी चुनावमा पनि सहज हुने अनुमान गर्न सकिन्छ । अहिले केही वडामा प्रतिस्पर्धी बनेको राप्रपा पनि एमालेको साथमा भएको कारण एमालेका उम्मेदवारलाई चुनाव जित्न थप सजिलो हुने अनुमान गरिएको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने महानगरमा चुनावी प्रतिस्पर्धा एमाले र गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलबीच हुने बताउछन् । कांग्रेसको संस्थागत निर्णय पौडेललाई सहयोग गर्ने नभएको कारण पनि एमालेलाई चुनाव जित्न धेरै सहज हुने उनको भनाइ छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १३:२५ मा प्रकाशित
























