
काठमाडौं। चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले चितवनको भरतपुर महानगरमा प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा बोल्दै क्षेत्रीले दाहालको पक्षमा भोट मागे ।
“खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ”, क्षेत्रीले भनेका छन्, “दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ–आउ लाग्यो ।”
आफुले कुनै पार्टीको सदस्य नलिएको भन्दै क्षेत्रीले कार्यक्रममा आउनुअघि आमालाई सोधेको र आमाले पनि रेनुले राम्रो काम गरेको भन्दै गएर बोल्दा फरक नपर्ने भनेकाले आफू बोल्न आएको बताए। “मैले मेरो कार्यक्रममा जानुअघि आमालाई सोधेँ, दिदीको यस्तो कार्यक्रम रहेछ बोलिदिउँ ?”, सन्दीपले भने, “आमाले पार्टीको लागि होइन, संगठनका लागि होइन, तैंले देशको लागि बोल्ने हो भन्नुभयो। त्यो केटीले देशको लागि काम गरिरहेको छ। बोल्दा हुन्छ भन्नुभयो।”
क्षेत्रीले चितवनमा रेनुले दिदीबहिनीले दाजुभाइलाई तिहारमा दिइने आशीर्वाद, लगाइदिने माला र पहिराउने टिकाजस्तै चितवनलाई सुरक्षित, सुखमय राख्नुपर्ने पनि बताए। उनले भने, “मैले तपाईंलाई दिदी भनिरहेको छु। यो चितवन तपाईंको भाइ हो, दाइ हो। अब यसमा तपाईंको यस्तो घेरा कोर्नुहोस्, चितवनका हरेकले आफूलाई सुरक्षित महसुस गरून्। सांस्कृतिक, भौतिक हरेक रुपले तपाईंहरुले सुरक्षित महसुस गराउनुहोस् ।”