काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत अवस्थामा भेटिएकी छिन् ।
नेपालगन्जकी चौधरी १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौंमा रहेका क्रममा भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता २२ वर्षे चौधरी ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा मृत भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा सन्जुले आत्महत्या गरेको हुन सक्ने आधार देखिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन काठमाडौं आएकी बाँकेको राप्ती सोनारी गाँउपालिकाकी चौधरीले २०१९ डिसेम्बरमा काठमाडौंमा सम्पन्न १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्।
वि.सं.२०७९ वैशाख २७ मंगलवार १०:०८ मा प्रकाशित






























