काठमाडौं । नेकपा (एमाले)को काठमाडौं उपत्यकाका प्रभावशाली नेता रामवीर मानन्धर नै एमाले उम्मेदवारको विरुद्धमा देखिएका छन् । उनले सार्वजनिक रुपमै “काठमाडौंमा एमाले नै क्लिन स्वीप हुने” अभिव्यक्ति दिएका छन् । मानन्धनले काठमाडौंमा पाँच दलीय गठबन्धनले सहजै जित्ने अनुमान गरेका छन् ।
“अघिल्लो निर्वाचनमा काठमाडौंका वडाहरुमा एमालेले थोरै–थोरै मतअन्तरले मात्रै जितेको थियो, महानगर र नगरको मतअन्तर पनि उस्तै थियो, अहिले गठबन्धन बनेको छ, गठबन्धन हुँदा कांग्रेसको मत त प्लस हुने नै भयो”, मानन्धरले दृष्टि अनलाइनसँगको संवादमा भनेका छन्, “म त काठमाडौंमा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था देखिरहेको छु ।”
उनले उम्मेदवार छनोटको विषयमा एमालेभित्र चरम असन्तुष्टी रहेको पनि खुलाएका छन् । असन्तुष्टीको कारण पनि एमालेको पक्षमा राम्रो नतिजा नआउने मानन्धरको आकंलन छ ।
त्यसो त पूर्वमन्त्री मानन्धर स्वम् नै मेयर पदको आकांक्षी थिए । उनले मेयरको टिकट पाउन निकै लबिङ्ग पनि गरेका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले मानन्धरको साटो केशव स्थापितलाई चयन गरे । मेयरको टिकट नपाएसँगै उनी र उनको नेतृत्वको समूह नै असन्तुष्ट बनेको थियो ।
कांग्रेस निकट उच्च स्रोतले बताएअनुसार टिकट नपाएका मानन्धरले बालुवाटारमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । उनले देउवासँग सिर्जनालाई सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।
मानन्धर एमालेभित्रको वामेदव गौतम खेमाका नेता हुन् । उनले वामदेवका निम्ति आफ्नो सांसद पद नै त्याग्ने घोषणा पनि गरेका थिए । तर, एमाले विभाजनसँगै वामदेव त्यागेका भएपनि मानन्धर ओलीको विश्वासिलो पात्र बन्न सकेनन् । जसको कारण चुनावमा एमालेकै उम्मेदवारलाई उनले असहयोग गर्ने अवस्था बन्न पुगेका देखिन्छ ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार १७:२८ मा प्रकाशित






























